www.tandavnews.com
Fact ~ In search of truth

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

सौराहा

नेकपा ‘एमाले’ को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपर्नुभएका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् । यसबाहेक सबै पदमा यसअघि घोषणा भएबमोजिम उम्मेदवारी परिरहेको छ ।

Batas

बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल रहेका छन् । उनीहरु सबैले उम्मेदवारी निर्वाचनका लागि दिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आधा घण्टा थप गरेर १० बजेसम्म पुर्याएको छ । यसअघि ८ बजेदेखि ९ः३० बजेसम्मको समय तोकिएको थियो । बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिँउसो १२ः०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो । उनले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेको हो । उनले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.