www.tandavnews.com
Fact ~ In search of truth

१४ पिक्सः नथिङ इज इम्पोसिबल

गलेश्वर ।

छ महिनाको अवधिमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका म्याग्दीका पर्वतारोही निर्मल पुर्जाको ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री (फिल्म) सार्वजनिक भएको छ । पुर्जाको आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण यात्राको सेरोफेरोलाई समेटिएको उक्त डकुमेन्ट्री नेटफ्लिक्स सोमबार सार्वजनिक भएको गरिएको हो ।

उक्त डकुमेन्ट्री १९१ देशका १८ करोडभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ । विश्वका सर्वोच्च १४ ओटा हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान पुर्जाका नाममा कायम छ । पुर्जाले केवल ६ महिनामा ती सर्वोच्च हिमालहरु आरोहण गरेका हुन् । यसअघि उक्त कीर्तिमान ८ वर्षको थियो ।

Batas

विसं २०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेका पुर्जाले सोही सालको कात्तिकमा चीनको सिसापाङ्गा हिमाल आरोहणसंगै सबैभन्दा कम समयमा ८ हजार मिटर भन्दा माथिका १४ ओटा हिमाल आरोहणको कीर्तिमान आफ्नो नाममा कामय गराएका हुन् ।

नेटफ्लिक्समा आउनुभन्दा केही दिनअघि काठमाडौँमा यसको प्रिमियर शो गरिएको उनले जानकारी दिए । यो फिल्म नेपालको सांस्कृतिक तथा पर्यटक क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

पुर्जाको नाममा जाडोयाममा बिनाअक्सिजन पाकिस्तानको माउन्ट केटु चढेको विश्व कीर्तिमानसमेत रहेको छ । माउन्ट केटुलाई ‘किलर माउन्टेन’समेत भनिन्छ । पुर्जाको नाममा आधा दर्जन बढी विश्व कीर्तिमान दर्ता भएका छन् ।

बेलायती सेनाबाट अवकाश लिएका ३८ वर्षीय पुर्जाले अबको आफ्नो समय नेपालको पर्यटनको प्रवद्र्धनमा केन्द्रित गर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको सफलताले म्याग्दीवासी नागरिकसमेत खुसी भएका छन् ।

विश्वका ठूला र चर्चित सञ्चारमाध्यमहरुले पनि पुर्जाको यो डकुमेन्ट्रीलाई हेर्नै पर्ने भनेका छन् । द टाइम्स, द गार्डियन, ग्ल्यामर म्याग जस्ता ठूला सञ्चारमाध्यमले १४ पिक्सलाई हेर्नैपर्ने फिल्मको सूचीमा राखेका छन् ।

आरोही पुर्जाले सपना देख्ने हरेक मानिसका लागि यो फिल्मले प्रेरणाको काम गर्ने बताए । उनले म्यासेन्जरमा भने, “यो फिल्ममा मेरो मात्रै नभएर मलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुको कथा समेटिएको छ । यो फिल्म पर्वतारोहणका बारेमा मात्रै होइन संघर्ष र सफलताको दस्तावेज पनि हो ।” नेटफ्लिक्स जस्तो ठूलो अनलाइन स्ट्रिमिङ कम्पनीबाट १४ पिक्स सार्वजनिक हुनु नेपाली सिनेमा क्षेत्रका लागि पनि ठूलो उपलब्धि भएको उनले बताए ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.