www.tandavnews.com
Fact ~ In search of truth

अझै सञ्चालनमा आउन सकेन बागलुङ बसपार्क

बलेवा, तारानाथ आचार्य

बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गका अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन भएको हो ।

बसपार्क निर्माण भएको महिनौँ बितिसक्दासमेत प्रयोगमा ल्याउन सकिएको छैन । १९ वर्षअघि बागलुङ नगरपालिका– ४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भए पनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ ।

Batas

जग्गाधनीबाट गठन गरिएको जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिका बीचमा बाँकी जग्गाको विकास तथा कित्ताकाटका विषयमा विवाद छ । “दाताको बाँकी जग्गा घडेरीका रुपमा विकास गर्न आवश्यक बजेट नगरपालिकाले विनियोजन गरेको छ, कित्ताकाट भएपछि पहुँचमार्ग निर्माण हुन्छ”, नगरप्रमुख जनकराज पौडेलले भने, “तत्काल जग्गा व्यवस्थापनको काम अघि बढाउन भनेका छौँ ।”

विसं २०७२ मा एकीकृत जग्गामध्ये नगरपालिकाका नाममा १७ रोपनी जग्गा छुट्याउँदा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने जग्गा व्यवस्थापन तथा विकास समितिको माग छ । सम्झौताअनुसार बाँकी रहेको जग्गाको चक्लाबन्दी गर्ने, विद्युत्, पानी, सडकलगायतका संरचना नगरपालिकाले निर्माणमा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । “रु ७५ लाख सोही कामका लागि छुट्याएका छौँ, जग्गा व्यवस्थापन समितिले कित्ताकाट र पूर्वाधार निर्माणका काम गर्नुपर्छ”, उनले भने, “नगरले त्यसका लागि पहल गरेको छ ।”

जग्गा व्यवस्थापन तथा विकास समितिले भने नगरले बजेट दिएरमात्रै काम गर्न नखोजेको आरोप लगाउँदै आएको छ । “विसं २०७२ मा भएको १२ बुँदे सम्झौता अक्षरशः पालना हुनुपर्छ”, समितिका सचिव ध्रुवबहादुर केसीले भन्नुभयो ‘इञ्जिनीयर, अमिन चाहिन्छ, हामीलाई कार्यालयले टेर्दैनन्, नगरले कित्ताकाट, सडक छुट्याउनेलगायत काम गरिदिनुपर्छ ।”

तत्कालीन एक हजार कित्ता जग्गा एकीकृत गरेर दुई कित्ता बनाइएको छ । ३४ जनाको नाममा रहेको जग्गा एकैठाउँ भएकाले बसपार्कलाई दिएर बाँकी जग्गा योगदानका आधारमा कित्ताकाट गरेर वितरण गर्नुपर्नेछ । “१३० घडेरी बनाउनुपर्नेछ, उता सरकारले कित्ताकाट रोकेको छ”, उनले भने, “घडेरी तयार नभई पहुँच मार्ग हुँदैन ।”

विसं २०७५ मा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम तीन पटक म्याद थपेर काम सकिएको हो । ७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा बसपार्क तयार भएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ, ग्यारेज र फूलबारी निर्माणको भएका छन् । नगर विकास कोषले रु ९ करोड ४ लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । बाँकी रकममध्ये नगरपालिकाको रु ७५ लाख र समपूरक कोषबाट रु २५ लाख खर्च भएको छ ।

हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बस राख्न पुगेको छैन । उक्त बसपार्क निर्माण भएकाले लामो तथा छोटो दूरीका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिन्थ्यो । मध्यपहाडी लोकमार्ग बागलुङकै बाटो गएपछि सवारीको चाप बढ्न थालेको छ । बागलुङदेखि पर्वत, म्याग्दी र मुस्ताङ तथा पोखरा चल्ने बसका लागि चिप्लेटी र लामो दूरीलाई यो बसपार्क सञ्चालन गर्ने नगरको योजना छ । हाल काठमाडौं, भैरहवा, चितवन, नेपालगञ्ज, काँकडभिट्टा, वीरगञ्जलगायत स्थानमा लामो दूरीका सवारी चल्दै आएका छन् ।

“यो उद्यानमा बढीमा ७० बसपार्क गर्न सकिन्छ, त्यसैले दीर्घकालसम्मका लागि अझै साँघुरो हुन्छ”, नगर प्रमुख पौडेलले भने, “लामो दूरी र छोटो दूरीका छुट्टाछुट्टै पार्क प्रयोग गर्दा यसको बढी सदुपयोग हुनेछ ।” बसपार्क तत्काल सञ्चालनमा ल्याउँदा जिल्लाका बजारमा हुने ट्राफिक जामसमेत कम हुने आँकलन छ । बसपार्कसँगै जोडिएको जग्गामा निर्माण हुने पहुँचमार्ग बनेमा बसपार्क भित्रिने र बाहिरिने अलगअलग मार्ग बनाएर व्यवस्थापन गर्ने नगरको योजना छ । बसपार्क भित्रिने पूर्वतर्फको सडक निर्माण तथा स्तरोन्नतिका लागि निर्माण कम्पनीलाई जिम्मा लगाइसकिएकाले दुवै पहुँच मार्ग तयार हुने जनाइएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.