www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका पर्यटकीयस्थलमा धमाधम पूर्वाधार निर्माण

गलेश्वर
म्याग्दीका पर्यटकीयस्थलमा पछिल्लो समय धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पर्यटकीयस्थलको प्रचारप्रसारले तीव्रता पाएसँगै पर्यटक आगमन पनि बढ्दै गएको छ ।

बेनी नगरपालिकाको ऐतिहासिक ज्यामरुककोट, पुलाचौरपछै र सिंगा तातोपानी, मालिका गाउँपालिकाको देविस्थान, मंगला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरालगायत पर्यटकीयस्थलमा पूर्वाधार निर्माण भइरहेको छ । पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकास भएको मालिका गाउँपालिका–५ देवीस्थानस्थित गाईखर्क ताल पुग्ने सडक निर्माण भएको छ ।

वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित रु दुई लाख र स्थानीयवासीको रु ५० हजार बराबरको श्रमदानमा उक्त सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिए । देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्म ७५० मिटर सडक निर्माण गरिएको छ । पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको सो तालको पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष पिपला बुढाथोकी मगरले बताए ।

Batas

ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयले बजेट विनियोजन गरी मन्दिर निर्माण थालेको छ । गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको अध्यक्ष श्रीप्रसाद रोका मगरको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुई होमस्टे सञ्चालन गरिएको छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिकस्थल खड्गभवानी कोत परिसरलाई समेत पर्यटकीयस्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् । भू–तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको रु १४ लाख ९९ हजार तथा उपभोक्ताको रु तीन लाख ६५ हजार बराबारको श्रमदानबाट पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणपछि कोतमन्दिर पुग्न सहज भएको छ ।

चालू आवमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २५० मिटर, गतवर्ष पर्यटन बोर्डको बजेटबाट ५६ मिटर र बेनी नगरपालिकाको बजेटमा ७६ मिटर पदमार्ग निर्माण गरिएको थियो । ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताए । मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनलाई गलेश्वरहुँदै ज्यामरुककोत र यहाँदेखि बागलुङको पञ्चकोट पुर्याउन सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताइएको छ ।

खड्ग भवानीकोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा चुरेनलगायत हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका विभिन्न स्थल, गलेश्वर, पञ्चकोट, बेनी, पर्वतको कुश्मा, कालीगण्डकीको नागबेलीसहितको दृश्यावलोकन गर्न सकिन्छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.