www.tandavnews.com
Fact ~ In search of truth

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाको आकाशमा बिहानैदेखि बदली छ । घाम राम्रो नखुलेका कारण उपत्यकामा बढी चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम स्थिर अर्थात् १० डिग्री सेल्सियस रहे पनि बदलीका कारण चिसो बढेको छ । पछिल्लो साता काठमाडौँको न्यूनतम तापक्रम छदेखि आठ डिग्री सेल्सियस हाराहारी थियो । आज काठमाडौँको न्यूनतम १० दशमलव आठ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।

Batas

महाशाखाका अनुसार दिउँसो सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनका साथै देशको उच्च पहाडी र हिमाली भेगका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

भोलि शनिबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मङ्सिर १९ गते आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.