www.tandavnews.com
Fact ~ In search of truth

सगोलद्वारा कास्कीको रुपामा छात्रबृत्ति एवं सहयोग सामाग्री वितरण

पोखरा, ताण्डव न्यूज

३० औँ अन्तरराष्ट्रिय अपांगता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रबृत्ति र सहयोगी सामाग्री वितरण गरिएको छ । पोखरा १५ नयाँ गाउँमा रहेको संस्था सगोल कास्कीले दिवसकै अवसर पारेर अपांगता भएका विद्यार्थीलाई शुक्रबार छात्रबृत्ति प्रदान गरेको हो ।

अपांगता भएका १६ जना छात्रा र १४ जना छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र फेस मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका सिबिआर अधिकृत बिमला केसीले जानकारी दिईन् । छात्रबृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाईका लागि रु पाँच सय प्रदान गरिएको छ । त्यस्तै अपांगता भएका १५ जना नागरिकहरुका लागि आवस्यकता अनुसारका सहयोगी सामाग्री प्रदान गरिएको छ । अपांगताको प्रकृति अनुसार ट्वाईलेट चियर, सेतोछडी, लठ्ठी, र बैसाखी प्रदान गरिएको उनले बताईन् ।

Batas

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपांगता भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघसंस्थाको पनि उत्तिकै सहयोग मिलेको बताए । उनले गाउँपालिकामै चिकित्सक खटाएर स्वास्थ्य परिक्षण गरी घरदैलोमै अपाङ्ता परिचयपत्र वितरण गरिएको भन्दै आगामी दिनमा पनि उनीहरुको हितका लागि काम गरिने बताए ।

“अहिले गाउँपालिकाले जे जती गरेको छ, यत्ति नै पर्याप्त होईन, अपांगता भएकाहरुका लागि हामीले धेरै योजना बनाएका छौँ, उनले भने “बालबालिका विद्यालय पुगेपछि अपांगतामैत्री वातावरण र संरचना अभाव देखिएका छन्, त्यस्ता संरचना निर्माणमा हामीले ध्यान दिईरहेका छौँ ।” क्षमताको पहिचान गर्न सके अपांगता भएका व्यक्तिहरुले समाजमा ठूलो योगदान पुर्याउन सक्ने उनले बताए । “रुपामै जन्मेका अपांगता भएका व्यक्तिहरु देशको नाम राख्न सक्ने ठाउँमा पुगेका छन्, उनले भने “हामीले सबैको क्षमतालाई विकाश हुने मौका दिनुपर्छ ।” गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालनलगायत बेलाबेलामा विभिन्न सीपमूलक तालिमहरु समेत आयोजना गर्दै आएको उल्लेख गरे ।

 

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपप्रमुख लालसुवा गुरुङले अपांगता भएका व्यक्तिहरुको लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नती र विकाशमा ध्यान दिईएको बताईन् । “आर्थिक अवस्था सुधार भएमात्र अपांगता भएका व्यक्तिहरु सक्षम हुन सक्छन्,” उनले भनिन्, “गाउँपालिकाले उनीहरुको अवस्था हेरेर आय आर्जनका लागि विभिन्न अवसरहरु दिईरहेको छ, यसमा विभिन्न दातृ संस्थाहरुले पनि सहयोग गरेका छन् ।” रुपामा अपांगताको क्षेत्रमा सगोल र परिलक्षित तथा बालबालिकाको क्षेत्रमा गोनेसाले गाउँपालिकासंग साझेदारी गरेर कार्यक्रम गरिरहेको उनले बताईन् । गाउपालिकामा गठित समूह र सञ्जाल एवं सहयोगी संस्थाहरुका कारण अपांगताको क्षेत्रमा काम गर्न सहज भएको उनको भनाई थियो ।

सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सन्तोष ढुंगानाले सार्वजनिक स्थलहरुको भौतिक पूर्वाधार निर्माणका क्रममा अपांगमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिईरहेको बताए । रुपा अपांगता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष टेकबहादुर गुरुङ, गोनेसाका प्रज्वल पंगेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सिता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रमलाई रुपा गाउँपालिका, सगोल कास्की र परिलक्षितले समेत सहयोग गरेका थिए भने सगोल कास्कीका सिबिआर अधिकृत बिमला केसीले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.