
बैतडी ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ ।
बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयकाले जनाएकाे छ । भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ । देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ ।

भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्नेछ । झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो ।
सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।
रासस
–––
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.