www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसको प्रदेश अधिवेशन र लोकसेवाको परीक्षाले पोखरा पर्यटनलाई राहत

गण्डकी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोकसेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ ।

कोरोना कहरका कारण प्रभावित भइरहेको पोखराको पर्यटनलाई आन्तरिक पर्यटनले केही मात्रामा भए पनि भरथेग गरिरहेको अवस्थामा कांग्रेसको प्रदेश अधिवेशनमा आएका ११ सयभन्दा बढी प्रतिनिधिसँगै पर्यवेक्षक तथा कांग्रेसी कार्यकर्ता र लोकसेवाका विभिन्न पदका लागि परीक्षा दिन आएका परीक्षर्थीका कारण पछिल्लो हप्ता पोखराका होटेल भरिएका थिए ।

Batas

कांग्रेसको अधिवेशनमा ११ सय प्रतिनिधिका लागि लेकसाइडका होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो । प्रतिनिधिसँगै संघीय संरचनाअनुसार पहिलोपटक भएको अधिवेशन हेर्न ठूलै सङ्ख्यामा जिल्ला–जिल्लाबाट आएका पर्यवेक्षक एवं कार्यकर्ताले पोखरा भरिएको थियो । कांग्रेस अधिवेशन र लोकसेवाको परीक्षाले यहाँका होटेल व्यवसायीलाई ठूलै राहत पुगेको पश्चिमाञ्चल होटेल सङ्घ ‘हान’ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

उनका अनुसार अधिवेशन र परीक्षाका कारण पछिल्लो हप्ता साना तथा मझौला होटेलको क्षमताको ७० देखि ८० प्रतिशतसम्म भरिएका थिए । ठूला होटेलमा भने सोही अनुपातमा पर्यटक नभरिए पनि केही न केही राहत भने पुगेको उनले जानकारी दिए । पोखरा पर्यटकीयस्थल हुनुका साथै गण्डकी प्रदेशको राजधानी भएका कारण राष्ट्रिय एवं प्रदेशस्तरका कार्यक्रमले यहाँको होटेल व्यवसायमा समय–समयमा सहयोग पुग्ने गरेको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.