www.tandavnews.com
Fact ~ In search of truth

घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौँका पूर्वाधार निर्माण

घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ वटा सौर्य उर्जाका बत्ती जडान

गलेश्वर, ध्रुवसागर शर्मा

राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौँका पूर्वाधार निर्माण गरिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सूचिकृत भएका १०० वटा पर्यटकीय गन्तव्यमध्ये एक घोडेपानी–पुनहिलमा पर्यटकीय आकर्षण बढ्न थालेपछि स्थानीय समुदायले समेत पूर्वाधार निर्माणमा लगानी गर्न थालेका हुन् ।

घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा २३ वटा सौर्य उर्जाका बत्ती जडान गरेर रातको समयमा पनि झलमल्ल उज्यालो बनाइएको छ भने झरी र हिउँ परेको अवस्थामा सुरक्षितरूपमा बसेर दृश्यावलोकन गर्न पुनहिल परिसरमा तीनकोठे पक्की आश्रयस्थल निर्माण गरिएको छ । घोडेपानीको मगर सङ्ग्रहालयको पक्की भवन निर्माण गरिएको छ । स्थानीयवासीले सरसफाइ र पर्यटकको स्वागतमा ध्यान दिन थालेका छन् । त्यसैगरी पुनहिल हुँदै मोहरे, घोडेपानीबाट चित्रे, खिवाङ र घान्दु्रकतर्फ जाने करिब दुई किलोमिटर पदमार्ग निर्माण गएिकोे छ । घोडेपानीका व्यवसायीमा सहरबजारमा जस्तै पक्की घर निर्माण र होटललाई सुविधायुक्त बनाउने प्रतिस्पर्धा चलेको छ ।

Batas

६ वर्षअघि यहाँका होटलहरूको क्षमता दैनिक ५०० जनाको हाराहारीमा रहेकामा अहिले क्षमता बढाएर एक हजारभन्दा बढी पुर्याइएको घोडेपानी होटल व्यवस्थापन समितिले जनाएको छ । होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष मीना पुनका अनुसार चित्रे हुँदै घोडेपानी जोड्ने चार किलोमिटर सडक ग्राभेल गरिएको छ । पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु २७ करोड लगानी गरेको छ ।

त्यसैगरी पाउद्वार तातोपानी कुण्डबाट भालखरा– खोपारा, खयरताल–खोपारा र लरेनी हुँदै पाउद्धार जोड्ने पाँच दिनको पदमार्गको अध्ययन र आधारभूत पूर्वाधार निर्माण सुरु गर्न थालिएको छ । पर्यटनको लाभ समुदायमा पुर्याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा खोपारामा ४० जना क्षमताको होटल सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट गत आर्थिक वर्षमा खोपारा, खयर, ढाडखर्क, किन्दु क्षेत्रमा पदमार्ग निर्माण गरिएको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।

धवलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेर गत आवमा रु १० लाखको लागतमा जलथलेबाट फगामसम्म एक किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको छ । दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैंसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेकोे परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको हो ।

पदमार्गमा पर्ने धार्मिकस्थल मोतिचौर बराहमा गाउँपालिका र समुदायको रु २० लाखको लगानीमा १०८ वटा धारा निर्माण गरिएको छ । भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाइँ लम्ब्याउन मान्द्रेढुंगा हुँदै बराह गुफाबाट तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मुन्द्रा चढाउने डाँडासम्म जोड्न पदमार्ग निर्माण गरिएको छ ।

अर्का वडाध्यक्ष ओमप्रकाश फगामीले आव २०७७÷७८ मा गाउँपालिकाले विनियोजन गरेको रु १० लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण गरिएको जानकारी दिए । प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पोखरे बगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्र्रहालय स्थापना गरिएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.