www.tandavnews.com
Fact ~ In search of truth

अर्गलका मगर समुदाय सिस्नो खोसेर कुलपूजा गर्न व्यस्त

बागलुङ, रामबहादुर थापा

ताराखोला गाउँपालिका– २ अर्गलका रैथाने मगर समुदाय सोमबारदेखि कुलपूजामा व्यस्त छन् । कुलपूजालाई उनीहरु पुस्तैनी पर्वका रूपमा लिन्छन् । तीन दिनसम्म हर्षबढाइँ गर्छन् । अर्गलीका कुलपूजामा अनौठो परम्परा छ, सिस्नो खोस्ने । यदि त्यसलाई झिकिदिने हो भने कुलपूजा अपुरो हुन्छ । पहिलो दिन कुल ‘समाज’ घरमा भेला भएर गाउँलेहरु पूजापाठ गर्छन् । दोस्रो दिन सिस्नो खोस्छन्, त्यसपछि नचरीसहित पर्व सकिन्छ ।

मगरजनले कुलपूजामा छोरी, ज्वाइँचेला र आफन्तलाई निम्ता गरी मिठोमसिनो खुवाउँछन् । एकापसमा खुशी साट्छन्, रमाउँछन् । त्यस पर्वमा कुलसँगै भूमि र प्रकृति पूजा पनि हुन्छ । कूलपितृको उद्धार, मानवजातिको भलोका निमित्त अर्चना हुन्छ । रोगव्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गरिन्छ । सिस्नो खोस्ने परम्परालाई युवायुवतीबीच भेटघाट हुने, आत्मियता बाँड्ने अवसरका रूपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्कता पनि झल्कने लोकविश्वास छ ।

Batas

कुलपितृका नाममा बलि चढाइएको सुँगुरलाई सिस्नोको मुठाभित्र बाँधेर अविवाहित युवायुवतीबीच खोसाखोस गर्ने चलन रहेको स्थानीयवासी दिलबहादुर रोकामगरले बताए । एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा ‘आयो, आयो …’ भन्दै गीत गाउँछन् भने पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरु हुन्छन् । अर्को छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न तम्तायर युवतीहरु हुन्छन् ।

हातमा सिस्नो समातेका युवकहरु युवतीहरुको नजिक पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । युवतीहरु पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस । यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । युवायुवतीबीच सिस्नो खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । जसले जिते पनि सुँगुरको मासु पछि प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन् ।

“दिव्य बाह्र वर्षमा कुलपूजा गर्ने परम्परा छ”, रोकामगरले भने, “यो हाम्रो ठूलो पर्व हो, धेरै वर्षमा आउने भएकाले पनि यसको महत्व बढी छ ।” त्यहाँका सिँजाली रोकामगरहरुले १२ वर्षमा कुलपूजा गर्छन् । अरु मगर जातिमा भने थोरै वर्षको अन्तर पारेर पनि कुलपूजा गर्ने चलन छ ।

मगर भाषा तथा संस्कृति संवद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले मगर समुदायको कुलपूजा पुरानो संस्कृति र पद्धतिमा आधारित रहेको बताए । उनले ताराखोला–२ अर्गलबाहेक ४ तारागाउँ र २ हिलमा पनि कुलपूजामा सिस्नो खोस्ने परम्परा रहेको उल्लेख गरे । तारागाउँमा हरेक दुई वर्षमा भदौ शुक्ल ‘उजेली पक्ष’ मा सिस्नो खोस्ने पर्व मनाइन्छ । त्यो पनि कुलपूजा नै हो । १५ औं शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका पूर्वजले सो पर्वको चलन बसालेको सचिव घर्तीमगरले बताए ।

सोही समयमा पाल्पाको अर्गलीबाट थातथलो सरी ताराखोला– २ मा आएका मगरहरुले अर्गलमा सिस्नो खोस्ने संस्कार थालेका हुन् । दुवै गाउँका रैथानेले सिस्नो खोस्ने पर्वलाई पुर्खाले छाडेर गएको नासोको रुपमा लिन्छन् । शाखापुर्खादेखि चल्ने आएको संस्कृतिका रूपमा गर्व गर्छन् ।

कुलपूजामा बुढापाका, अविवाहित युवायुवती मिलेर बाटो सफाइ गर्ने, पूजास्थलमा धामी नाच्ने, पितृ डाक्ने, तीन महिना अघि राखेको कोदोको जाँड चढाउने, खाने गरिन्छ । कुलथानमा साँढ, सुँगुर, बोका र भालेको बली दिने चलन रहेको कुल घरका सञ्जय रोकामगरले बताए ।

“हिजैदेखि कुलपूजा सुरु भएको हो, आज सिस्नो खोसिन्छ र भोलि नचरी लगाएपछि पर्व सकिन्छ”, उनले भने । सिस्नो खोस्नुपूर्व पितृ र देउताको पूजासँगै गाउँका साँध सीममा रहेको वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झने चलन छ । गुरुबा र पुजारीहरुले ढ्याङ्ग्रो बजाउँदै गीत गाउँछन् ।

पुर्खा, कुलपितृ र देवीदेउतालाई गीतबाटै घुमाएर कुल ‘समाज’ घरमा ल्याएर राख्ने परम्परा छ । स्थानीयवासीले यो पर्वलाई कुल र भूमिपूजाका रुपमासमेत लिन्छन् । सिस्नो खोस्ने पर्वसँगै, असारे, भुस पोल्नेलगायतका पर्व ताराखोलामा प्रचलित छन् । भनिन्छ, ३६५ दिनमा १४५ दिन ताराखोलामा मेला, पर्व चल्छन् । मगर समुदायले आफ्नै बलबुतामा पुरानो संस्कृतिलाई धान्दै आएका छन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.