www.tandavnews.com
Fact ~ In search of truth

डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी तथा डोटीलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ

सरकारले सुदूरपश्चिमका ६ पहाडी जिल्लालाई बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।

सोही माग बमोजिम गृहमन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

Batas

सरकारको निर्णयअनुसार डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी तथा डोटीलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडौंको बालीनाली नोक्सान भएको थियो । बाढीपहिराले सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, दार्चुला तथा डोटीका नागरिकहरु अलपत्र परेका थिए भने कतिपय घरबारविहीन भएर बास बस्नका लागि पनि समस्यामा परेका छन् ।

सुदूरपश्चिमका नौवटा जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति बझाङ तथा डोटीमा भएको थियो । बेमौसमी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौंको धनजनको क्षति भएको थियो ।

सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच/पाँच, बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई पालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका, केआईसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा, अमरगढी, आली ताल, गन्यापधुरा र परशुराम गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यसका साथै बझाङका थलारा, बित्थडचिर, खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपी हिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.