www.tandavnews.com
Fact ~ In search of truth

काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

झापा ।

पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।

Batas

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिए ।

विर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताए। उनले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिए । अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।

नेपाल २० वर्षअघि सम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उनले बताए । “गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा”, उनले भने, “युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुप¥यो ।”

कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताए । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताए । उनले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको सुनाए । उनले पछिल्लो समय होमस्टे, रेष्टुराँमा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताए ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.