www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सोमबार बिहान ८ बजेदेखि मतदान हुने

काठमाण्डौँ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ ।

Batas

यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ ।

दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेलको उम्मेदवारी कायमै छ ।

एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।

मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ । थारुतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिनुभएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिनुभएपछि दुई जनामात्र प्रतिस्पर्धामा कायम रहेका छन् ।

पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सहमहामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । शनिबार उम्मेदवारले मनोनय दर्ता गराएका हुन् । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यक्रम तय भएको छ ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.