www.tandavnews.com
Fact ~ In search of truth

‘लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस्’: अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ ।

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । “शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ”, उनले भने “ अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।”

बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे । पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र शेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको बताए । उनले भने,“अर्थमन्त्रीले शेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । म प्रतिवद्ध छु ।”

Batas

सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने उनको भनाइ छ । अर्थमन्त्रीले भने,“धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो ।” “घटाउने मान्छे कहाँ–कहाँ हुन्छन् । कसले घटाउछन्, कसले बढाउछन् त्यही संस्थालाई थाहा होला”, मन्त्री शर्माले भने,“लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ । त्यसतर्फ ध्यान पनि दिइएको छ ।”

संस्थागत सुधारका लागि मन्त्रालयले काम गर्दै आएको उल्लेख गर्दै उनले त्यसका लागि आफूले बारम्बार प्रतिबद्धता जनाएको र त्यसको नतिजा पनि केही समयमै देखिने बताए । अर्थमन्त्रीले लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भनेर सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन आफू लागिपरेको र लगानीकर्ताको हित बाहेक सरकारको अरु कुनै चाहनासमेत नभएको उल्लेख गरे ।

बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउन र बजारको विकेन्द्रिकरण गर्ने प्रयास जारी रहेको भन्दै उनले अर्थमन्त्रीलाई दोष दिएर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे । “अर्थमन्त्रीले बजार बढाउने र घटाउने काम गर्दैन । तपाईलाई भ्रममा पारेर ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नु होला”, अर्थमन्त्रीले भने, “मन्त्रालयले गर्ने भनेको संस्थालाई पारदर्शी बनाउने तथा नीतिनियम र कानून बनाउने हो ।”

उनले बीमा क्षेत्रमा देखिएको विकृति रोक्नका लागि समेत मन्त्रालय लागिपरेको बताए । उनले बीमा गर्नु ठूलो कुरा नभएको तर भुक्तानी पाउनु चाँही ठूलो कुरा भएको बताए । बीमा गरेपछि प्रतिबद्धता अनुसार भुक्तानी दिनु महत्वपूर्ण विषय रहेको भन्दै यसमा ध्यान दिन उहाँले बीमा समितिलाई निर्देशन दिए ।

बीमा समितिको कामकारबाहीलाई चुस्त र सेवाग्राही मैत्री बनाउन कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ । उनले भवन निर्माण गरेर मात्र नपुग्ने बताउँदै भवन निर्माणसँगै, ऐन र प्रविधिमैत्री जनशक्तिको पनि विकास तथा विस्तार गर्नुपर्ने उल्लेख गरे ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अब सबै संरचना बलियो बनाउनैपर्नेमा उनले जोड दिए । उनले पूर्वाधार, व्यवसाय, जनताका विविध जोखिम, किसानका जोखिमलगायतको राम्ररी पहिचान गरेर बीमा गरिए समस्या नहुने बताए । मन्त्री शर्माले बीमा कम्पनी सहर केन्द्रित र व्यवसाय केन्द्रित मात्र भएको बताउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले समितिको नयाँ बन्न लागेको भवनका बारेमा जानकारी गराएका थिए ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.