www.tandavnews.com
Fact ~ In search of truth

नवलपुरमा धान खेतीः क्षेत्रफल घट्यो, उत्पादन बढ्यो

नवलपुर, टेकराज पोखरेल

नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भएपनि उत्पादन भने एक हजार ३७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए । लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५८० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ८२ हजार ९४४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २० हजार ६७० हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ८१ हजार ५७० मेट्रिक टन उत्पादन भएको लामिछानेले बताए ।

Batas

“नवलपुरमा गत वर्षको तुलनामा यस वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ । तर, जमिनको उत्पादकत्व भने बढेको देखियो”, उनले भने, “धान लगाउने बेलामा समयमै पानी पर्नु, प्राङ्गारिक मलको प्रवद्र्धन हुनु, माटोको गुणमा सुधार आउनुलगायत कारणले यस वर्ष जिल्लामा धानको उत्पादन बढेको हो ।” जिल्लाको धान खेती गरिएको कूल क्षेत्रफलमध्ये ५५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको लामिछानेको भनाइ छ । जिल्लामा कुलो, बोरिङ, ट्युबेललगायतबाट धान खेतीमा सिँचाई हुने गरेको उनले बताए ।

जिल्लामा बढेको प्लटिङ, तरकारी खेतीतर्फ किसानको आकर्षणजस्ता कारणले धान खेतीको क्षेत्रफलमा कमी आएको प्रमुख लामिछानेले बताए । “यहाँका किसान पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने, “त्यस्तै, बढ्दो सहरीकरणसँगै बजार क्षेत्रका खेतीयोग्य जमिनमा प्लटिङ हुन थालेपछि पनि धान लगाउने क्षेत्रफल घटेको हो ।” केन्द्रले व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई विभिन्न अनुदान प्रदान गर्दै आएका कारण पनि यहाँका कृषक धान उत्पादन छोडेर तरकारी खेतीतर्फ आकर्षित हुन लागेका लामिछानेले बताए ।

मुख्यगरी जिल्लाको दक्षिणी भागमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । “जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटका दक्षिणी भागहरुमा धान खेती राम्रो हुने गरेको छ”, प्रमुख लामिछानेले भने, “पहाडी क्षेत्र बुलिङटारमा पनि धानको उत्पादन राम्रो छ ।” नवलपुर धानमा आत्मनिर्भर भएको उल्लेख गर्दै उनले खपत भएर यहाँ बढी भएको धान अन्य जिल्लामा निर्यात गर्ने गरेको बताए ।

नवलपुरमा सावित्री, सावा मन्सुलीसहित वर्णशङ्कर जातका धान उत्पादन हुने गरेको छ । “यहाँ किसानले बढी लगाउने धान भनेको सावित्री र सावा मन्सुली नै हो”, प्रमुख लामिछानेले भने, “केही किसानले वर्णशङ्कर जातका धान लगाउन थालेका छन्, रैथाने धानको खेती भने विस्तारै हराउँदै गएको छ ।” जिल्लाको कूल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ । कूल खेतीयोग्य क्षेत्रफलको करिब ३१ प्रतिशत जमिनमा मात्रै धान खेती हुँदै आएको प्रमुख लामिछानेले बताए । “यहाँ खेतीयोग्य जमिन धेरै भए पनि सबैमा धान खेती हुन सकेको छैन”, उनले भने, “धानबाहेक यहाँ मकै, व्यवसायिक तरकारी, कोदो, केरालगायत खेती हुने गरेका छन् ।”

जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धान खेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.