www.tandavnews.com
Fact ~ In search of truth

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

कास्की

गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’ को अवधारणामा मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गरे । सरकारले उपलब्ध गराएको सो रकम मनाङले टोलीको व्यवस्थापनलगायतमा खर्च गरिने बताइन्छ । यसका साथै प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकीसँग मिलेर मनाङले काम गर्ने सदस्य सचिव गुरुङले बताए ।

Batas

प्राविधिकल र पोखरा रंगशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलकुद मन्त्री गुरुङले मनाङजस्तो गर्विलो इतिहास भएको टोलीसँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुुखद् रहेको बताए । उनले भने, “प्रदेशमा यूवा खेलाडी उत्पादनमा समेत एमएमसी ‘मनाङ मस्र्याङ्दी क्लब’ सँग मिलेर अघि बढ्न सक्छौँ ।”

मनाङले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै मन्त्री गुरुङले प्रदेश सरकारले रु १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गरे । सदस्य सचिव गुरुङले मनाङसँगको सहकार्यले मुर्तरुप लिएको जनाउँदै फुटबल विकासका लागि गरिने आगामी दिन अझै व्यवस्थित योजना बनाउँदै अघि बढ्ने बताए ।

मनाङका अध्यक्ष मुखिया गुरुङले फुटबल विकासका लागि प्रदेश सरकारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । “पहिलोपटक काठमाडौँ बाहिर लिग खेल्न पोखरा आएका छौँ, प्रदेश सरकारसँग मिलेर फुटबल विकासमा अघि बढ्नेछौँ”, उनले भने । यस वर्षको शहीद स्मारक लिगअन्तर्गत पाँचौं चरणको खेलमा आज अपराह्न मनाङले पोखरा रंगशालामा नेपाल पुलिस क्लबसँग खेल्दै छ । मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक पुलिससँग खेल्न लागेको हो । पोखरामा मनाङले तीन खेल खेल्नेछ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.