www.tandavnews.com
Fact ~ In search of truth

स्वरोजगार बन्दै बाँकेका दलित महिला

राँझा

बाँकेको बैजनाथ गाउँपालिका– १ गाभर निवासी पदमीकला कामीले पशुपक्षी फार्म दर्ता गरेर व्यावसायिकरूपमा कृषि पेशामा होमिएकी छन् । अहिले उनको फार्ममा ४२ बाख्रा, ६ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँसपालन गरेरै जीविकोपार्जन गर्दै आएको उनले बताइन् ।

लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारी घरमै पुग्ने गरेको उनले जानकारी दिइन् । गाभर दलित महिला समूहमा आवद्ध उनले आफूसहित घरका चार जनालाई कामले भ्याइनभ्याई हुने गरेको बताइन् । बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दानापानी खुवाउने कामले फुर्सद नै हुँदैन। हामीले घरमै स्थानीय चारो बनाएर कुखुरापालन गर्दै आएका छौुं, पदमीकलाले भनिन् ।

Batas

खजुरा गाउँपालिका ६ सिमलघारी निवासी सुनिता विकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गरेको छ । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक रु दुई हजार देखि दुई हजार ५०० सम्मको बिक्री हुने गरेको उनको भनाइ छ । सिर्जनशील दलित महिला समूहका सचिवसमेत रहेकी सुनिताका श्रीमान खाडी मुलुक कतार पुगेका छन् ।

ुसमूहमा लागेर नास्ता पसल सञ्चालन गर्ने सोच आएको हो, अहिले राम्रो भएको छ । घर खर्च र बाबुलाई स्कुल पढाउन नास्ता पसलबाटै पुगेको छ, श्रीमानले कमाएको पैसा चोखै बचाएर राखेकी छुु, उनले भनिन् । पदमीकला र सुनिताजस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही दलित महिला विभिन्न व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न थालेका छन् ।

थोरै पैसाका लागि पनि विगतमा श्रीमानको भर पर्दै आएका दलित महिला अहिले कुखुरापालन, तरकारी खेती, सौन्दर्य कला, होटल व्यवसायलगायत विभिन्न व्यवसाय सञ्चालन गरी घरको आर्थिक व्यवहार सञ्चालन गरेका छन् । दलित महिला संघ ‘फेडो’ ले सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत गाउँगाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिकरूपमा सशक्तीकरणको बाटोमा लम्किएका छन् ।

विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने या त खाली समय घरमा बसेर बिताउने विपन्न वर्गका दलित महिलासमेत पछिल्लो समय गाउँगाउँमा महिला समूह निर्माण गरी स्वरोजगारमूलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका– ६ स्थित दलित कृषक समूहकी अध्यक्ष देवी विकले बताइन् । ुदलित महिलालाई आम्दानीको स्रोतको सिर्जना गरी विभिन्न पेशा व्यवसायमा संलग्न गराउन समूहबाट ऋण लगानीसमेत गर्ने गरिएको छु, उनले भनिन्, ुसमूहबाट ऋण लिएर व्यवसाय गरेपछि धेरै जनालाई जीविकोपार्जनमा सहज भएको छ ।

समूह गठन भएपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिला सस्तो

ब्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । व्यवसाय सञ्चालन गरेपछि जीविकोपार्जनमा सहज भएको बैजनाथ गाउँपालिका– ८ राइटरपुर निवासी पम्फादेवी सुनारले बताइन् । तरकारी खेती, कुखुरापालन र बङ्गुरपालन गर्दै आएकी उनले समूहबाट ऋण लिएर उत्पादन गरेको वस्तु बिक्रीबाट मसिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको दाबी गरिन् ।

उनले उद्यमशीलतासम्बन्धी तालिम तथा सहुलियत ब्याजदरमा ऋण पाए गाउँका थुप्रै महिला व्यवसायमा जोडिने र घरेलु हिंसासमेत कम हुने बताइन् । समूहमा आवद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी बैजनाथ गाउँपालिका वडा नं ३ निवासी जुना विकले आर्थिक आम्दानीमा सुधार भएसँगै छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको बताइन् ।

आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाका लागि स्थानीय सरकारले पनि विभिन्न किसिमका तालिम तथा सहयोग गर्न सके आर्थिक अभावले घरमा हुने हिंसा न्यूनीकरण गर्नमा सहयोग पुग्ने उनको भनाइ छ । दलित महिलालाई सामाजिक तथा आर्थिक रूपमा सशक्तिकरण गराउँदै वडा तथा गाउँपालिकास्तरका संरचनामा सहभागी बनाउन दलित महिला सङ्घ ‘फेडो’ ले लामो समयदेखि कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक दिलासा गौतमले जानकारी दिइन् ।

दलित महिला संघले हाल बाँकेको बैजनाथ, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालन गरेको दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत प्रत्येक टोलमा २८ जना सदस्य रहेको समूह गठन गरी महिलाको आवश्यकता र रूचि तथा सीपअनुसार सहयोग गर्दै आएको गौतमले बताइन् ।

दलित महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन आफूहरूले लक्षित वर्गका कार्यक्रम विनियोजन गरेर लागिपरेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले बताइन् । उनलै स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न चाहने र गरिरहेका दलित महिलालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले सहयोग गर्दै आएको उल्लेख गरिन् ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.