अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले थकाली समुदायका युवाहरुलाई राष्ट्रको हितमा लाग्न सुझाव दिएका छन् । थकाली युवा परिवार नेपालद्वारा पोखरामा आयोजित प्रथम राष्ट्रिय भेला तथा नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै शेरचनले युवाले राष्ट्रको हितमा योगदान दिनुपर्ने सुझाव दिएका हुन् । उनले युवाहरु भविष्यका कर्णधार रहेको बताउँदै नेतृत्वको जिम्मेवारी बहनसँगै समाज र राष्ट्रको हितमा लाग्न सुझाव दिए ।
प्रदेश प्रमुख शेरचनले उनले राष्ट्रियता विना कुनै पनि समुदायको पहिचान र अस्तित्व नरहने धारणा राख्दै सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रियता विना हाम्रो पहिचान रहन सक्दैन । हामी थकाली हुन सक्दैनौ, ‘उनले भने, ‘यदि नेपाल नै रहेन भने हामी नेपाली कहाँ रहन्छौ । र नेपाली नै भैदैन । त्यसैले युवाहरु राष्ट्रको हितमा लाग्नुस ।’
उनले राष्ट्रको एकताका लागि युवाको भुमिकासँगै महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गरे । ‘राष्ट्रिय एकताको लागि तपाईहरुको जिम्मेवारी र दायित्व छ त्यो कहिल्यै नभुल्नुस् ।’ शेरचनले भने ।
प्रदेश प्रमुख शेरचनले फरक प्रसंगमा बोल्दै थकाली महिलाहरुलाई पनि नेतृत्व तहमा ल्याउपर्ने धारणा राखे । ‘पुरुषवादी चिन्तनका कारण महिलाहरु नेतृत्व तहमा आउन सकेका छैनन् । परिश्रमको हिसाबले हेर्ने हो भने पुरुषभन्दा महिला दोब्बर परिश्रमी हुन्छन्, शेरचनले भने, ‘अवसर नदिएर मात्रै हो जिम्मेवारी दिए महिला अगाडी आउन सक्छन् ।’
उनले थकालीहरुको जनसंख्या पछिल्लो समय झन न्यून भएको बताउँदै एकताको सुत्रमा बाधिनुपर्ने आवश्यक रहेको औल्याए । उनले थकाली समुदाय सम्पन्नताको हिसाबले अगाडी रहेको बताउँदै पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुपर्ने उल्लेख गरे । ‘सान सम्पत्तिबाट मात्रै हुन्न चिन्तन र विचारबाट हुन्छ, उनले भने, ‘सम्पत्तिले खुशी दिन्न दुखी बनाउँछ । कसैले लुट्लाकी भन्ने डर हुन्छ । कतै हत्या गर्छ कि भन्ने त्रास हुन्छ । त्यसैले खुशी विचारले मिल्छ ।’
प्रदेश प्रमुख शेरचनले पाँच दिन चल्ने सो नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रमबाट जीवनपयोगी ज्ञान आर्जन गर्ने बताए । ‘यो तालिमबाट जे सिक्नुहुन्छ । त्यसको सदुपयोग गर्नुस् । आफ्नो समुदायको धर्म, संस्कार संरक्षण गर्ने पक्षमा लाग्नुस् । यतिमात्र होईन समाज र देशका लागि समय खर्चिनुस्, योगदान दिनुस्, उनले भने, ‘तपाईहरुको यो उपस्थितिले म उत्साहित भएको छु ।’
प्रदेश प्रमुुख शेरचनले थकाली समुदायको जनसंख्यामा कमी भएको बताउँदै दुई सन्तान ईश्वरको बरदान भन्ने उखानको पछि नलाग्न समेत युवाहरुलाई आग्रह गरेका थिए । राष्ट्रिय भेलासँगै पाँच दिन चल्ने नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रममा देशभरका १६ क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । भने महेश दाहालले सहभागीहरुलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.