www.tandavnews.com
Fact ~ In search of truth

सवारीसाधनको भन्सार दर घटाउन लबिङ् गर्छु : अध्यक्ष थापा

पोखरेली युवा व्यवसायी ध्रुवबहादुर थापाले नाडा अटोमोबाइल्स एसोसियसन नेपालको ४५ औं अधिवेशनबाट करणकुमार चौधरीलाई ६६ मतले पराजित गर्दै नाडाको अध्यक्षमा विजयी भएका छन् । कुल १४१३ मत प्राप्त गर्दै वियजी बनेका थापाको नेतृत्व पश्चात भन्सार कर लगायतको विषयमा थप सकरात्मक परिवर्तन हुने उपभोक्ताले आशा गरेका छन् ।

नवनिर्वाचित थापाको भावी योजनाबारे ताण्डव न्यूजले गरेको संवाद संक्षेपमाः

– नाडामा तपाईको जीतले के सन्देश दिन्छ ?

Batas

नाडाको अधिवेशनमा दुईटा प्यानल चुनावी मैदानमा होमिएका थियौ । तर अहिले हामी व्यवसायी भएको हिसाबले हिजोका दिनमा जे सुकै भएर चुनाव लडेपनि अब हामी एकाकार भएका छौ । भोट जसको पक्षमा आएपनि हामीले व्यवसायीको हकहितका लागि काम गर्ने हो । त्यही हिसाबले समग्ररुपमा काम गर्ने भएकाले त्यस्तो खालको फ्याक्सन अब छैन । एउटा सन्देश चाँही के दिएको छ भने नाडामा सदस्यहरु पनि बढेका छन् र सबै खालका व्यक्ति त्यहाँ पुग्न सक्छन् भन्ने सन्देश प्रवाह भएको छ ।

– आगामी वर्षका लागि के–कस्ता योजना बनाउनु भएको छ ?

सुरुको योजना भएको संगठनलाई सुदृढिकरण गर्नु नै हो । विशेषरुपमा जनरल व्यवसायीका कुराहरु धेरै आएका छन् । सरकारसँग आक्रोश छ । अब नाडामार्फत जानुप¥यो भन्ने कुरा र नाडाले कुरा सुनेन भन्ने जस्ता कुरालाई सम्बोधन गर्नुपर्नेछ । सबै व्यवसायीका आ–आफ्ना ठाउँमा समस्याहरु त छन्, विगतमा केही अटोमोबाईल्सका समस्याहरु आउँदाखेरी व्यक्तिगतरुपमा एप्रोच गरेर सरकारसँग लबिङ् गर्नुपर्ने अवस्था थियो भने अब नाडाले नै नेतृत्व गर्छ । सुनुवाई गर्छ तर त्यसको लागि संगठनलाई सुदृढ गर्न जरुरी छ । मेरो प्रमुख काम र नजर त्यतातिर लाग्छ ।

– कार्यसमितिमा ५ जनामात्रै तपाईको गुटबाट छन्, योजनालाई मूर्तरुप दिन सक्नुहुन्छ ?

प्यानलको हिसाबले ५ जना या १२ जना भन्ने कुराहरु आएको छ तर हामी सबै व्यवसायीहरुको एजेण्डा एउटै हो । १७ वटाको कार्यसमिति जुन छ म सबैसँग कम्युनिकेसनमै बसेको छु । अब प्यानल भन्ने छैन ।

– करिब ६० बदर भोटलाई प्रयोगमा ल्याएको चर्चा छ नी ?

बदर भोट भन्ने कुरा होईन कि बरु कस्तो भयो भने, हाम्रो प्रतिनिधिको रुपमा भोट हाल्न पाउँथे । पछि उनीहरु नै स्वयम् उपस्थिति भएर भोट हाल्न पाउने व्यवस्था भएको हुनाले त्यस्तो भएको हो । तर बदर भोटलाई सदर गर्ने भन्ने कुरा त हुँदा पनि भएन ।

– तपाईको जीतलाई लायन्सको संलग्नताको फाईदा हो भन्न मिल्छ ?

त्यो त डेफिनेट्ली हो । लायन्सका धेरै साथीहरु अटोमोबाईल्सको सेक्टरमा हुनुहँुदोरैछ । त्यसले पनि एउटा सकरात्मक प्रभाव पारेको चाँही पक्कै हो ।

– नाडाको नेतृत्वमा रहँदा पदाधिकारीले भन्सारमा मोलमोलाई गर्छन् भन्छन् नी ?

पहिला पहिला थियो होला सायद, तर अहिले त्यो सम्भावना छैन । किनभने भन्सारमा मोलमोलाई गर्नुपर्ने आवश्यकता पनि छैन । यायायात क्षेत्रमा हामीले पारदर्शी तरिकाले काम गर्छाै । अहिले केहीपनि लुकाएर काम हुन्न, चाँहे गाडीका होस् स्पेयर पार्टस्का कुरा होस् । सबै बैङ्किङ च्यानलबााटै आउँछ । विगतमा बैङ्किङ् माध्यम नहुँदा अरु बाटोबाट पनि आउथ्यो कि भन्ने सम्भावना थियो । अबचाँही त्यस्तो सम्भावनै छैन । अब हामीले भनेको सरकारसँग नीतिगत लबिङको लागि मात्रै पहल गर्ने हो । नाडाले आफै केही गर्ने पनि होईन । अटोमोबाईल्स्को सेक्टरमा सकरात्मक नीति बनोस्, व्यवसायीलाई काम गर्ने वातावरण बनोस् भन्ने उद्देश्यले हामी लबिङ गर्ने गर्छौ ।

– व्यवसायीको हितमा सरकारसँग मुलतः कुन विषयमा लबिङ् गर्नुहुन्छ ?

विशेषतः भन्सारमा कुरामा, मुल्याङ्कनका कतिपय कुरामा आधारमुल्य बढाईएको छ । हामीले बैङ्किङ च्यानलबाट ल्याएका छौ भने त्यो त बढेको हुँदैन नी । फेरी सरकारले आफ्नै मूल्य कायम गरेर बढी मूल्य राखिदिएको अवस्था छ । कतिपय कुराहरु बैङ्किङ कारोबारका लागि बैंङ्कसँग पनि डिल गनुपर्ने अवस्था छ । सरकारले पनि जुन लिमिटेसन लगाइदिएको छ । पचास/साठी प्रतिशत फाईनान्स गर्ने त्यो कुरा पनि राष्ट्र बैंक या सरकारसँग कुरा गर्नुपर्नेछ । त्यो कुरा नाडाले लिड गर्छ ।

– अनि उपभोक्ताको हितमा कुनै योजना छैनन् ?

छ । हामीले लबिङ् गर्ने भनेकै उपभोक्ताकै लागि हो । जस्तो संसारमा सबैभन्दा महंगो भन्सार दर नेपालमा छ । एउटा गाडी भारतीयले भन्दा झण्डै पाँच गुणा र तीन गुणा बढी तिरेर मोटरसाईकल चढ्नुपर्छ । चाइनाको कुरा गर्दा तीन–चार गुणा बढी तिर्नु परेको छ । हामीले त्यो भन्सार दरहरु कम हुनुपर्छ भनेर लबिङ् गरिरहेछौ । भोलिका दिनमा पनि गरिरहन्छौ । जताबाट पनि व्यवसायीले मुल्यमा फाईदा राखेर बिक्री गरेकै हुन्छ । तर भन्सार मूल्य घट्नुपर्छ । भनेको अर्थ त सिधा त्यसको असर उपभोक्ता कै लागि हो नी हामीले लबिङ् गरेको । भोली गएर स्पेयर पार्टस्कै कुरा गर्ने हो भने भन्सारको मूल्याङ्कनको जुन परिपाटी छ त्यसले गर्दा नै स्पेयर पार्टस्को मूल्यहरु बढेको अवस्था छ । त्यसैले हामी उपभोक्ताकै लागि गरिरहेछौ ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?

व्यवसायीहरुले परिवर्तन ल्याउन खोज्नुभएको छ । त्यो मेरो लागि पनि चुनौतीपूर्ण छ । भोली गएर सहजरुपमा काम गर्ने वातावरण बनाउनका लागि व्यवसायीहरुले पनि सहयोग गर्नुपर्छ । त्यसैले त्यो खालको वातावरण यहाँहरुले निर्माण गरिदिनुस् भन्ने अपेक्षा छ । उपभोक्ताका लागि हामीले नाडाको पक्षबाट सरकारसँग पहल गर्छाै । जुन यो भन्सारदर घटाउनेदेखि लिएर नीतिगत कुरामा नीति निर्माणमा समेत महत्व राख्छ । व्यवसायीले कुनै ठाउँमा लगानी गर्दै छ भने त्यो नीति व्यवसायीमैत्री हुनुपर्छ । जसले उपभोक्तालाई पनि सहज हुन्छ ।

हामीले एसेम्बलका लागि लबिङ् गरिरहेछौं । जसकारण उपभोक्ताले सस्तो मुल्यमा गाडी चढ्न पाउँछन्, त्यतातिर नाडाले पहल गर्छ । त्यसको लागि उपभोक्ता र व्यवसायीहरुबाट दबाब दिनुपर्छ । नाडाको अभियानलाई नाडाले मात्रै होईन कि यहाँहरुले पनि होस्टेमा हैसैं थपिदिनु भयो भने व्यवसायी र उपभोक्तामैत्री नीतिहरु निर्माण गर्नलाई सहयोग पुग्नेछ ।

प्रस्तुती – अर्जुन गाहा (सुशान्त)

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.