www.tandavnews.com
Fact ~ In search of truth

माओवादीको राष्ट्रिय सम्मेलनः सुरक्षा रणनीति परिवर्तन

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।

यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

Batas

आज अपराह्न हुने महाधिवेशन उद्घाटनलाई बढी केन्द्रित गरिएको छ । सुरक्षाकर्मी बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन भइसकेको छ । “थप मद्दतसहित रिजर्व फोर्ससमेत तयारी अवस्थामा छ, महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौँ”, परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने ।

भीडभाड कम हुने गरी ट्राफिक व्यवस्थापनसमेत मिलाइएको छ । अन्य सुरक्षा निकाय तथा आयोजकसँग समन्वय गरेर चुस्त सुरक्षा व्यवस्था मिलाइएको एसएसपी गिरीले बताए । राष्ट्रिय सम्मेलनमा अतिथि नआउने आफ्नै पार्टीका नेताहरु मात्रै सहभागी हुने भन्ने थियो, तर महाधिवेशनमा परिणत भएपछि अतितिहरूलाई समेत बोलाइएको छ । प्र्धानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय पार्टीका मुख्य नेताहरु आउने भएकाले सुरक्षाको मोडाडिटी परिवर्तन गरिएको महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी र प्रहरी वरिष्ठ उपरीक्षकले कमाण्ड पोष्टबाटै अनुगमन गर्नेछन् ।

माओवादीको राष्ट्रिय सम्मेलन बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो । तर महाधिवेशनको रूपमा हुने भएपछि कार्यक्रम समय परिवर्तन गरी ३ बजे पुर्याइएको छ । समुद्घाटनमा अन्य कार्यकर्तासमेत आउने भएकाले पनि केही भिडभाड बढ्ने भएकाले सोहीअनुसारको सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाधिवेशनमा झण्डै चार हजारदेखि पाँच हजार मानिस उपस्थित हुने अनुमान छ । प्रतिनिधि एक हजार ५३३ र अन्य स्वःस्फूर्त आउने कार्यकर्तालाई पनि रोकावट नभएकाले उनीहरु पनि सहभागी हुन पाउनेछन् । यद्यपि प्रज्ञा भवनको क्षमता एक हजार ३६० बस्न सक्ने हो । अन्यका लागि चौरमा बसेर र भवन कै अन्य खुला भागमा बसेर हेर्न मिल्ने गरी व्यवस्था गरिएको छ । त्यहाँ स्क्रिन र स्पिकर राखिएकाले बाहिर पनि मानिस बस्न सक्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनको सुरक्षाका लागि अहिले बिहानदेखि नै तीन टोली परिचालन भइसकेको र बाँकी टोली केहीबेरमा थप गरिने प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भीडभाडको अवस्था हेरेर सोहीअनुसारको ट्राफिक व्यवस्थापन मिलाउने गरी ट्राफिक सुरक्षा योजना मिलाइएको छ । विशेषगरी सम्मेलनस्थल वरपरका सवारी रुटमा विशेष व्यवस्थापन गरिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.