www.tandavnews.com
Fact ~ In search of truth

उधारो ‘फुटसल लिग’ : अझै पाएनन् नगद पुरस्कार

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल विभागले पहिलोपटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको विजेता र उपविजेता टिमले अझै पनि घोषित नगद पुरस्कार नपाएको भन्दै गुनासो गरेका छन् । प्रतियोगिता सम्पन्न भएको ३ महिना बितिसक्दा समेत विजेता टिम स्पोर्टस् क्यासल पोखरा र उपविजेता टोली शंखमुल फुटसल काठमाडौंले घोषित नगद पुरस्कार नपाएका हुन् ।

एन्फाले नेपालको ईतिहासमै पहिलो पटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको उपाधि रकम १० लाख र उपविजेता टिमलाई ५ लाख प्रदान गर्ने घोषणा गरेको थियो । विधागत तर्फ म्यान अफ द म्याचको जनही ५ हजार र अन्य उत्कृष्ट ५ विधाको जनही २५ हजार तोकेको थियो ।

Batas

पोखरामा सम्पन्न भएको सो लिगका लागि एन्फाले हरेक टिमलाई तयारी खर्च बापत १ लाख रुपैया पहिलो एक महिनामा नै बैंक खातामा दाखिला गर्ने प्रावधान रहेपनि अझैपनि निर्धारित रकम पाएका छैनन् ।

तर तिन महिना बितिसक्दा समेत उपाधि राशीसँगै विधागत तर्फको नगद पुरस्कार र तयारी खर्च नपाउँदा रुष्ट मात्रै हैन । आयोजक एन्फा टोली फेरी आलोचित बन्न पुगका छन् । यस अघि पनि एन्फाले विभिन्न प्रतियोगिताहरुमा घोषित रकम निर्धारित समयमा उपलब्ध गराउन सकेको थिएन ।

पुरस्कार राशी नपाए पत्रकार सम्मेलन

पहिलो संस्करणको लिग च्याम्पियन बनेको स्पोर्टस् क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङले घोषित रकम उपलब्ध नगरे पत्रकार सम्मेलन गर्ने तयारी थालेको बताए । ‘दिन्छु दिन्छु भनिराखेको छ उनीहरुले । आउँदै छ भन्दा भन्दै दसैँ तिहार आईहाल्यो । बिनोदसँग कुरा भाको थियो । चाडै नै आउँदै छ भन्दै थियो । आउलाकी भनेर कुरेर बसेका छौँ । तर उनीहरुले जहिले पनि आउँछ भन्छ तर झुलाईराछ । अब पनि भएन भने प्रेस कन्फेरेन्स गरेर सबैलाई जानकारी गर्छाैँ ।’

गुरुङले उपाधि रकम १० लाख, तयारी खर्चको बाँकी ५० हजार र उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको २५/२५ गरी ५० हजार बक्यौता रहेको बताए । ‘म्यान अफ द म्याच १० वटाको ५० हजार दसैँपछि पायो’, उनले भने, ‘प्रथम पुरस्कार, बेष्ट कोच, ईमिर्जिङ प्लेयर र तयारी खर्चको बाँकी ५० हजार पनि पाएका छैनौँ ।’

क्यासलका टिम व्यवस्थापक ओम गुरुङले लिग च्याम्पियन भएको स्मरण गर्दै पुरस्कार राशी अझैसम्म उपलब्ध च्याम्पियनसिपको कदर नभएको बताए । उपाधिसँगै नगद राशि नपाएपछि खेलाडीहरु निरुत्साहित भएको बताउदै गुरुङले भने, ‘जितिहालियो । अहिलेसम्म पाछैन यसले गर्दा खेलाडीहरु निरुत्साहित हुन्छन् नी । पाउनुपर्ने पाछैन । खर्चहरु टन्नै छ ।’

गुरुङले राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना गर्दा आर्थिक पक्षको व्यवस्थापन मजबुद गर्नुपर्ने सुझाए । ‘यस्तो प्रतियोगिताहरुमा टाईममै उपलब्ध गरायो भने भोलीका दिनमा खेलाडी र टिम सबैलाई प्रोत्साहान हुन्छ, उनले भने, ‘पुरस्कार जित्यो तर पुरस्कार नपाएपछि खेलाडीको मनोबल नि घट्छ । खेलमा लाग्ने मान्छेहरुको पनि निरुत्साहित हुन्छ ।’

म्यान अफ द म्याचः कसैलाई काखा कसैलाई पाखा

स्योर्टस् क्यासलले म्यान अफ द म्याचको रकम पाएपनि शंखमुलले भने ११ मध्ये सबै म्याचको रकम अझै बक्यौता छ । क्यासलले १० वटा म्यान अफ द म्याचको ५० हजार दशै पछि पाएको थियो । यता म्यान अफ दि म्याचको नगद राशीसँगै शंखमुलले यातायात खर्च १२ हजार, दुईवटा उत्कृष्ट पुरस्कार राशी २५÷२५ गरी ५० हजार र उपविजेता नगद पुरस्कार ५ लाख तथा तयारी खर्चको ५० हजार अझै प्राप्त गरेको छैन । ‘हामीले केही पनि पाएका छैनौ हजुर । नगद पुरस्कारहरु छुट्टै कुरा हो, शंखमुल फुटसलका सञ्चालक युनेश अवालेले ताण्डव न्यूजसँग भने ‘म्यान अफ द म्याचको समेत पाएका छैनौ ।’

उनले खेलकुदको विकासका लागि प्रतियोगिताहरु निरन्तर हुनुपर्ने बताउदै भने, ‘लिग भनेको भैरहनुपर्छ । खेलाडीहरु खुशी छन् तर मेहनत गरेर उपाधि जितेको पैसा नआउँदा रुष्ट छन् । क्यास प्राईज त दिनपर्याे नि ।’

अवालेले व्यक्तिगत रुपमा कोहीसँग सरोकार नभएको बताउदै घोषित रकम समयमै पाउनुपर्ने दोहोर्याए । ‘हामीले भाग लिगेर जितेपछि पाउनुपर्ने रकम पाउनुपर्याे । पर्सनल्ली मलाई केही पनि समस्या छैन । मेरो म्यानेजरलाई मेल पनि गरिराछ म्यासेज पनि गरिराछ । अर्काे हप्ता अर्को हप्ता भनेको मात्रै सुनिराछु । तर खै ।’

१० टिमले खेले ऐतिहासिक ‘उधारो लिग’

पोखरा रङ्गशाला स्थित कभर्डहलमा असोज २ गते देखि २२ गते सम्म देशभरका कुल १० टिमले सहभागिता जनाएका थिए । सो लिगमा लिग च्याम्पियन बनेको पोखरेली टोली स्पोर्टस् क्यासल, सविन मेमोरियल, प्रदेश १ बाट फुटसल फाइभ र दी राइजिङ क्लब धरानले भाग लिएका थिए ।

बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमूल फुटसल, प्रभातफेरी युथ क्लब र स्काई गोल्स सहभागि थिए  । भने झरना स्पोर्टस् क्लब र लुम्बिनी फुटसलले लिगमा प्रतिस्पर्धा गरेको थियो । सो लिगबाट पोखराको स्पोर्टस् क्यासलले पाहुना टोली शंखमुल फुटसललाई फाईनलमा पराजित गर्दै १० लाखको हकदार बनेको थियो । फाईनल खेलमा शंखमुललाई ४–२ गोल अन्तरले हराउदै नेपालकै पहिले संकरणको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि रक्षा गरेको थियो ।

काे–को भए उत्कृष्ट विधाको हकदार ?

एन्फाले सो लिगमा म्यान अफ द म्याच बाहेक अन्य उत्कृष्ट ५ विधामा नगद पुरस्कारको घोषणा गरेको थियो । सो मध्ये विजयी टिम स्पोर्टस् क्यासलका सुमित श्रेष्ठले उदीयमान खेलाडीका रुपमा घोषित हुदै २५ हजारको हकदार बने । यसैगरी लिग जिताएका सोही टिमका प्रशिक्षक विष्णु गुरुङ उत्कृष्ट प्रशिक्षकको हकदार भए ।

उपविजेता टिम शंखमुलका गोलरक्षक अनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक र सोही टिमकै मणि लामा उत्कृष्ट एएलए घोषित थिए र भने फुटसल फाईभ धरानका विजय श्रेष्ठ उत्कृष्ट फिक्सो घोषित हुदै २५ हजारको हकदार बनेका थिए । तर उनीहरु कुनै पनि खेलाडीले घोषित उत्कृष्ट विधाको नगद रकम अझै पाएका छैनन् ।

किन रोक्कियो पुरस्कार राशी ?

फेडेरेशन ईन्टरनेशनल फुटबल एसोसियशन (फिफा) ले प्रदान गर्ने लिगको रकम भुक्तानीका लािग रिपोर्ट पठाउने तयारीमा रहेको एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंले बताए । उनका अनुसार एन्फाले पठाएको रिपोर्टको आधारमा फिफाले स्वीकृति दिएपछि रकम भुक्तानी हुनेछ । ‘रकम नपाउने भन्ने कुरा होईन । अहिले फिफाले पेमेन्टको सिस्टममा हामीले जुन कार्यक्रमको रिपोर्ट पठाईसकेपछि हामीले एप्रुभल लिनुपर्ने हुन्छ । त्यो आईसकेपछि उनीहरुले पैसा पठाईदिन्छ ।, उनले भने, ‘अहिले फाईनान्सियल्ली टाईट गरिदिएको छ ।’

उनले एन्फामा दुई धार भएको बताउदै दोस्रो धारका समुहले फिफामा रिपोर्ट गरेकाले रकम भुक्तानमा कडाई गरेको बताए । ‘एन्फामा अहिले दुईटा टिम भएको छ । एउटा टिमले फिफामा रिपोर्ट हालेको छ । त्यही भएर पनि अलि टाईट गरेको छ । पहिला चाँही मजाले पैसा खर्च गर्न पाउथ्यो । अहिले चाँही फिफालाई स्वीकृति लिएर मात्रै खर्च गर्ने भन्ने छ । त्यही भएर अहिले यै प्रोसेसमा गैरहेको छ, उनले भने, ‘यद्यपी फुटसलको मात्रै होईन पछिल्लो समय सम्पन्न महिला टोलीको लिगको पनि बाँकी छ ।’

उनले राष्ट्रले दिने बजेट अपुग हुने बताउदै फिफा र एएफसीको सहयोगमा एन्फाले कार्यक्रम आयोजना गर्ने बताए । ‘हामी कसरी एक्टिभ भयौ भने हामी टोटल्ली फिफा र एएफसीको बजेटबाट चलिराछौ, उनले भने, ‘राज्यले दिने बजेट त एउटा टुर्नामेन्टमा नेशनल टिम भाग लिन गयो भने त्यो सकिन्छ । वर्षमा हामीले केही गर्नै सक्दैनौ । हाम्रो फुटबलको मेन स्ट्रेन्थ भनेकै फिफा र एएफसी हो । यसमा लुकाउनैपर्ने कुरा छैन ।’
उनले सरकारबााट पनि फुटबलको विकासका लागि नीतिगत पहल गराउनका लागि एन्फा लागिपरेको बताए । ‘हामी पहल गरिराछौ, यही शहिद स्मृति ए डिभिजन लिगमा पनि सरकारले ४ करोड दिने कुरा भको छ । प्रदेश लिगमा पनि प्रदेश सरकारले १ करोड ५० लाख यस्तै दिने कुरा छ, उनले भने, ‘सरकारलाई पनि खेलकुदमा सहभागिता गराउनुपर्छ भनेर कुराहरु अगाडी बढाईराछौ । यसरी हामी सरकारसँग समन्वय गरिराछौ ।’
उनले यथाशिघ्र बक्यौता रकम चुक्ता गर्ने दोहोर्याए । ‘अहिले फिफाको मान्छेहरु अडिटिङ गर्न आथे । उनीहरुले हाम्रो अडिटिङ रिपोर्ट चेक गरिराछन् यो सक्ने वित्तिकै फण्ड रिलिज गरिदिन्छन् जस्तो लाग्छ ।’

के भन्छन् फुटसल विभाग प्रमुख ?

एन्फाको फुटसल विभाग प्रमुख बिनोद गुरुङले लिगको बक्यौता रकम भुक्तान गर्न लागिपरेको बताए । उनले पछिल्लो समय काठमाडौं मै रहेर रिपोर्टहरु तयार पारिरहेको बताए । ‘त्यही फस्ट र सेकेण्ड प्राईज त होनी अरु त सबै तिरिसक्यौ नि ।’ उनले भने ।

संयोजक गुरुङले तयारी खर्चको बाँकी रकम पनि छिट्टै सम्बन्धित टिमलाई उपलब्ध गराउने बताए । ‘पहिला सबैले ५० हजारको बिल पठाए सबैले १ लाखकै पठाउनुपर्छ । सबैले एकैपटक पठाउने बित्तिकै हुन्छ । अहिले चार/पाँच टिमले पठाछन् । उनीहरुलाई ग्रुप च्याटमा हाल्देको छु । त्यो पठाएसी हाल्दीहाल्छ नी ।’

उनले आगामी हप्ता चेक जम्मा गरेर बक्यौता रकम भुक्तान गर्ने बताए । ‘होटलको त्यत्रो तिर्याै अब धेरै छैन । गेम सफल पार्याै । फस्ट र सेकेण्डको खासै धेरै छैन । उनीहरुले चेक हाल्ने बित्तिकै हामीले दिईहाल्छौ । त्यसको लागि यहाँ मैले रिपोर्टहरु बनाउदै छु के ।’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.