www.tandavnews.com
Fact ~ In search of truth

चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो

नारायण अधिकारी
चितवन

चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको हो । यस्तै सोही समयमा हात्तीको आक्रणबाट ४, गैँडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट ३, भालुको आक्रमणबाट ४, जंगली बँदेलको आक्रमणबाट २ र मगर गोहीको आक्रमणबाट १ जना घाइते भएका छन् । घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले जानकारी दिए । चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले रु ८० लाख ७३ हजार क्षतिपूर्ति तिरेको छ । निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५/७६ देखि आव २०७८/७९ को कात्तिक मसान्तसम्म रु ६ करोड २५ लाख ४४ हजार राहत वितरण गरेको छ ।

Batas

निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पुर्याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ । चालु आवको ४ महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई रु ४० लाख राहत रकम वितरण गरिएको छ । त्यस्तै वन्यजन्तुबाट सामान्य घाइते भएका पीडित परिवारलाई रु ३ लाख ७ हजार र गम्भीर घाइते भएका पीडित परिवारलाई रु १३ लाख १६ हजार उपलब्ध गराएको तिवारीले जानकारी दिए ।

त्यस्तै पशुधन क्षति शीर्षकमा रु ७ लाख ८५ हजार तथा घरगोठ शीर्षकमा रु ४२ हजार वितरण गरिएको छ । वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पुर्याएका परिवारलाई रु १६ लाख २१ हजार प्रदान गरिएको छ । निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जंगली जनावरले मानवीय तथा भौतिक क्षति पुर्याउने गरेका छन् । निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई रु १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम रु २ लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ । जंगली जनावारले अन्नबालीमा क्षति पुर्याएमा बढीमा रु १० हजार, घरगोठ भत्काएकोमा रु १० हजार र पशुधनको क्षति गरेमा रु ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

वन्यजन्तुको आक्रमणबाट आव २०७३/७४ मा १०, आव २०७४/७५ मा ५, आव २०७५/७६ मा १२, आव २०७६/७७ मा ९ र आव २०७७/७८ मा १२ जनाको मृत्यु भएको थियो । निकुञ्ज र स्थानीयवासीबीच द्वन्द्व बढेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अवधारण ल्याएर निकुञ्जको आम्दानीको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा खर्च गर्न थालिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीयवासी र निकुञ्जबीचमा द्वन्द्व घटाउँदै लगिएको बताए । पहिलेपहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको छ ।

मध्यवर्ती क्षेत्रमा हुने क्षतिको राहत निकुञ्जले दिने गर्दछ । निकुञ्जले चितवन, पर्सा, मकवानपुर र नवलपरासीको बर्दघाट सुस्तापूर्वलाई समेटेको छ । विसं २०३० मा स्थापना भएको यस निकुञ्जसित जोडिएका क्षेत्रलाई समेटेर २०३० मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो । मध्यवर्ती क्षेत्र ७२९ दशमलव ३७ वर्गकिलोमिटरमा फैलिएको छ भने निकुञ्ज ९५२ दशमलव ६३ वर्गकिलोमिटरमा फैलिएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.