www.tandavnews.com
Fact ~ In search of truth

वर्षा र हिमपातले मुलुकभर चिसो बढ्योः जनजीवन कष्टकर

काठमाडौँ

आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Batas

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

टेलिफोन सेवा अवरुद्ध

हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।

शनिबारदेखि नै बेला–बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका–१० देउलीकोटका मोहन बोहराले बताए । घाम नलाग्दा पहाडी जिल्लाका एफएफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ । रिले स्टेशनमा विद्युत् सेवा नहुँदा सौर्य ऊर्जाका भरमा प्रसारण भइरहेका एफएफको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ ।

३ दिनदेखि राम्ररी घाम नलागेको र सोलारका ब्याट्री चार्ज नहुँदा सेवा प्रभावित भएको जयपृथ्वी एफएम बझाङका अध्यक्ष प्रताप ओलीले बताए । उनले भने, “तीन दिनदेखि रिले स्टेशनमा राम्ररी घाम लाग्न पाएको छैन । घाम नलाग्दा ब्याट्री चार्ज हुनसकेको छैन । रिले स्टेशनमै भारी हिमपात भएको छ । सौर्य ऊर्जा बाहेक अन्य विकल्प नहुँदा रेडियोको प्रसारण सेवा छोट्याइएको छ ।” दैनिक १८ घण्टाको प्रसारण हुने गरेकोमा अहिले दिउँसो रेडियो बन्द गरेर बिहान पाँच घण्टा र साँझ पाँच घण्टामात्र प्रसारण गर्ने गरेको उनको भनाइ छ ।

मनाङको जनजीवन कष्टकार

मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकार बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिरा हिँडेका छन् । मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।

‘अहिले जिल्लाको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ । ‘पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेका छौ’, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने ।

स्थानीयवासीका अनुसार बाक्लो हिमपातले अत्यधिक चिसो बढाएको छ । माथिल्लो मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताए । उनका अनुसार स्थानीय साथै चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् । उनले माथिल्लो मनाङमा शुक्रबार साँझदेखि छिनछिनमा हिउँ परिरहेको बताए । चिसोका कारण स्थानीयवासी आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन् । यस अघि मङ्सिर तेस्रो साता माथिल्लो मनाङ र नार्पाभूमिमा हिमपात भएकोमा केही दिनयता चामे आसपासका क्षेत्रमा पनि हिमपात हुन थालेको छ ।

हिमपातका कारण अत्यधिक चिसो बढेकाले प्रहरीलाई नियमित गस्तीका लागि पठाउनसमेत समस्या भएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए । सशस्त्र प्रहरी प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले हिमपातका कारण अधिकांश सडक अवरुद्ध भएकाले आवतजावत गर्न असजिलो भइरहेको बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार माथिल्लो क्षेत्र साथै सदरमुकाम चामे आसपासमा निरन्तर बाक्लो हिमपात भइरहेकाले अत्याधिक चिसो बढेको बताए ।

उनकाअनुसार विदेशी पर्यटकलाई सुरक्षित रहन र मौसममा सुधार नआएसम्म तिलिचो र थोरङ्लालगायत अन्य जोखिम क्षेत्रमा नजान अनुरोध गरिएको छ । गत एक हप्तमा जिल्लामा ३१ विदेशी पर्यटक भित्रिए पनि हाल २० जना जिल्लाभित्र रहेका छन् भने तीमध्ये ११ जनाले थोराङ्लापास गरी मुस्ताङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

घर बाहिर निस्किन सकस

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातिदेखि भएको बाक्लो हिमपातका कारण ह्वातै चिसो बढेको छ । यसले सर्वसाधारण नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको छ ।

हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । करिब एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, ‘गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणीय भएका छन् ।’

अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उनको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेसँगै अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा ४ हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोला देउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जनाएको छ ।

यसैगरी हिमपातकै कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ । हिउँ परेपछि तराईबाट पहाड र पहाडबाट तराईका जिल्लाका लागि छुटेका दर्जर्नौँ सवारीसाधन अहिले राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । उक्त राजमार्गको हिउँ पन्छाउन सडक विभागको डोजर प्रयोग गरिएको प्रहरीचौकी घण्टेश्वर गैराले जनाएको छ ।

म्याग्दी र मुस्ताङको जनजीवन प्रभावित

हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा आज बिहानैदेखि परेको हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

मुस्ताङको अधिकांश भू–भागमा हिउँ परेको छ । घरपझोङ गाउँपालिका–५ ठिनीकी यमुना लामाले हिमपातसँगै हावाहुरी चलेको बताउनुभयो । सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नं ८ को राम्चेमा पनि हिउँ पर्न थालेको छ ।

आज बिहान ४ बजेदेखि हिमपात सुरु भएको घोडेपानी टोल विकास संस्थाका अध्यक्ष वीरेन गर्बुजा पुनले बताउनुभयो । खोला, ताल, पँधेरा र धारामा पानी जमेको छ । सडकमा सवारीसाधन आवतजावत गर्न समस्या भएको छ । वर्षात र हिउँले स्याउ, जौ, उवा, फापरबालीलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले बताए । याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चडलगायत पशु चौपायालाई गोठमै बाधेर राखेका छन् ।

उपल्लो मुस्ताङका बासिन्दा चिसो बढेपछि म्याग्दी, कास्की, काठमाडौँ, चितवन, रुपन्देही, बागलुङ, पर्वतलगायतका जिल्लामा घुम्ती व्यापारका लागि झरेका छन् । म्याग्दीका किसानले चरणका लागि लेकाली क्षेत्रमा लगेका पशु गोठ बेँशी झारेका छन् । बर्खामा हिमालको फेदीका बुकी र चरन खर्कमा लगिएका गाई, भैँसी, चौरी, भेडाबाख्राको गोठ चिसो बढेसँगै गाउँबस्ती आसपासका जंगल र पाखामा झारेका छन् ।

बालवालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

गएरातिदेखि वर्षासंगै परेको हिमपातले उत्तरी रसुवाको जनजीवन कष्टकर बनेको छ ।

सदरमुकाम धुञ्चेदेखि उत्तरी क्षेत्रका गाउँबस्तिहरूमा हिउँ पर्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । हिमपातका कारण स्याफ्रु, बृद्विम, लाङ्टाङ्, खैदी, थुमन, तातोपानी, टेचाङ्दे, सिम्वु, गतलाङ, चन्दनबारी समेतका क्षेत्रमा प्राभावित भएका छन् । यसैगरि हिमपातले राम्चे, ठाडे, लोकल, यार्सा, हाकुको माथिल्लो भेक गोल्जुङ समेतका गाउँको जनजीवनसमेत कष्टकर बनाएको छ ।

हिमपातका कारण घरपालुवा चौपायलाई चरण क्षेत्र अभाव हुँदा पशु आहाराको संकट बढ्दै गएको पशुपालक कृषकले बताएका छन् । अत्याधिक चिसोले बालवालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् । हिमपातको समयमा घरबाट बाहिर ननिस्कन जिल्ला विपद् व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ । उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार हिमपातको असर न्यूनीकरणका लागि न्यानो कपडा बितरण गर्ने पूर्वतयारी भइरहेको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.