www.tandavnews.com
Fact ~ In search of truth

उधारो फुटसलः अफिसियलले पनि पाएनन् पारिश्रमिक

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल विभागले पहिलोपटक पोखरामा राष्ट्रिय फुटसल लिग सम्पन्न गर्याे । प्रतियोगिता सम्पन्न गर्न व्यवस्थापन टोली पछि अर्काे मुख्य भुमिका म्याच अफिसियलहरुको हुन्छ । फुटसल लिगको एउटा खेल सम्पन्न गर्न ४ रेफ्री १ सहायक रेफ्रि, १ म्याच कमिस्नर र १ जनरल कोअर्डिनेटर गरि ७ जनाको जिम्मेवारी रहेको थियो ।

पोखरा रङ्गशाला स्थित कभर्डहलमा असोज २ गते देखि २२ गते सम्म सञ्चालन भएको सो लिगका हरेक खेल सम्पन्न गर्न यी सात जनाको काँधमा जिम्मेवारी थियो । आयोजकसँग अफिसियल टोलीले खेल खेलाउने जिम्मेवारी लिएबापत सिमित पारिश्रमिकमा सम्झौता भएको थियो । तर तीन महिना बितिसक्दा समेत अहिलेसम्म कुनै पनि पारिश्रमिक नपाएको खुल्न आएको छ ।

Batas

अफिसियलहरुसँगै सो लिगको च्याम्पियन टोली स्पोर्टस् क्यासल पोखरा र उपविजेता शंखमुल फुटसल काठमाडौंले पनि घोषित पुरस्कार राशी अझै पाएका छैनन् । यतिमात्रै नभई विधागत पुरस्कार राशी र लिग तयारी खर्च स्वरुप सहभागि टोलीहरुले ५० हजार अझ पाउन बाँकी रहेको बताईएको छ ।

को को थिए अफिसियल ?

देशभरबाट कुल १० टिमको सहभागिता रहेको सो लिग सम्पन्न गर्न १६ जना अफिसियलले जिम्मेवारी पाएका थिए । स्रोतका अनुसार रेफ्री ईन्स्ट्रक्टरका रुपमा सुरज मानन्धर, म्याच कमिस्नरका रुपमा सुरेन्द्र तामाङ र शक्ति श्रेष्ठले भुमिका निर्वाह गरेका थिए भने जर्नल कोअर्डिनेरका रुपमा दयाराम सापकोटा र सुवास न्यौपाने प्रतियोगितामा खटिएका थिए ।

यसैगरि म्याच रेफ्रीमा सिनियर रेफ्री सन्तोष गुरुङ, कविरमान गुरुङ, राजकुमार श्रेष्ठ, सौरभ गुरुङ, हरिस कार्की, प्रभात शर्मा, सुवास तामाङ, विश्वास गुरुङ, राजन थापा, सुजन जिसी र दीपेन्द्र तामाङ रहेका थिए । उनीहरुले सो लिगको ४९ खेल सम्पन्न गरेका थिए । स्रोतका अनुसार उक्त रेफ्रीहरु एफसी कोर्स गरेका ए लाईसेन्स प्राप्त रेफ्रीहरु हुन् ।

छनौट चरण देखिनै उधारो

लिग आयोजना गर्नुपूर्व देशका विभिन्न स्थानमा आयोजना गरिएको छनौट चरणको प्रतियोगिताको समेत अफिसियलहरुले पारिश्रमिक नपाएको स्रोतले बताएको छ । स्रोतका अनुसार रेफ्रीहरु आफ्नै खर्चमा पोखरा, काठमाडौं, ईटहरी र बुटवलमा सम्पन्न छनौट चरणका खेल खेलाउन पुगेका थिए ।

‘क्वालिफाईङ राउण्ड देखिको अहिलेसम्म कुनै पनि पारिश्रमिकहरु पाको छैन’, स्रोतले भन्यो, ‘पारिश्रमिक प्लस त्यसमा आउँदा जादा बाटो खर्च इटहरी, बुटवल, पोखरा र काठमाडौं जादाखेरी सबै रेफ्रीहरुले आफै खर्च गरेको भनिएको छ । आफुहरुले खर्च गरेको पनि नपाएको अवस्था छ ।’

पारिश्रमिकको हिसाब नगरेको बताउदै स्रोत भन्छ, ‘हिसाब चाँही गरेछैन । क्वालिफाईङ राउण्डको के कति भनेको छैन । फाईनलको राउण्डको चाँही रेफ्रीहरुलाई पर म्याचको १० हजारको दरले गरेको थियो ।’

स्रोतका अनुसार पोखरामा सम्पन्न लिगको ४९ खेलको १० हजारको दरले ४ लाख ९० हजार ११ जना रेफ्रीले पाएका छैनन् । म्याच कमिस्नर, जनरल कोअर्डिनेटर र रेफ्री ईन्स्ट्रक्टरलाई भने के कति दिने भन्ने निर्णय भएको थिएन तर ए डिभिजन फुटबल लिगमा भने प्रति व्यक्ति ३ हजारको दरले पारिश्रमिक दिईएको थियो । रेफ्रीसँगै अन्य ५ जना अफिसियलहरुले पनि पारिश्रमिक हात पारेका छैनन् ।

यही हप्ता क्लियर हुन्छः फुटसल विभाग प्रमुख गुरुङ

एन्फा अन्तर्गत फुटसल विभाग प्रमुख विनोद गुरुङले बक्यौता रकम यही हप्ता चुक्ता गर्ने बताए । उनले बाँकी रहेको रकम भुक्तानी गर्न काठमाडौं मै रहेर काम गरिरहेको बताए । ‘यही हप्ता गर्ने भनेर म काठमाडौं मै छु । फिफालई बुझाउनुपर्ने सबै कुरा बुझाईसकेछौ’, उनले भने, ‘फिफाले अहिले एकदम कडा गरेको छ । पहिला जस्तो क्यास टु क्यास हुन्न । सबै चेकबाटै गर्नुपर्छ । फिफाले मंगलबार या बुधबार पेमेन्ट गर्ने लेटर पठाउँछ अनि भैहाल्छ ।’

उनले फुटसलको मात्रै नभएर फुटबलको समेत रकम बक्यौता रहेको बताए । ‘पहिला होटलहरुको तिर्याे अब रेफ्रीको र फस्ट र सेकेण्डको चाँही उताबाट मंगलबार की बुधबार उताबाट रिलिज लेटर पठाईदिन्छ, उनले भने, ‘त्यसपछि फुटसलको मात्रै होेईन फुटबलको पनि एकैचोटी हुन्छ । फुटबलको पनि अड्केछ नी ।’

सम्बन्धित न्यूज

उधारो ‘फुटसल लिग’ : अझै पाएनन् नगद पुरस्कार

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.