www.tandavnews.com
Fact ~ In search of truth

मर्दीमा समर स्की महोत्सव हुँदै

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

पछिल्लो समय लोकप्रिय गन्तव्यको रुपमा विकसित हुँदै गईरहेको मर्दी हिमालमा समर स्की महोत्सव हुने भएको छ । दीगो हिमालयन कोष नामक संस्थाको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो ।

आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म स्की महोत्सव गर्न लागिएको हो । नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अधिकारीले बताए । यो महोत्सवलाई ग्रेट हिमालयन स्की भ्रमण नाम दिइएको छ ।

Batas

महोत्सव सम्पन्न गर्न १६ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च अन्तरगत सबैभन्दा बढी बिमामा छुट्टाइएको छ । महोत्सवमा भाग लिनेहरुको बिमाका लागि २ लाख २० हजार रुपैंया विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।

संस्थाले मर्दीमा गर्न लागेको स्की महोत्सव आठौं चरणको हो । यस अघि मनास्लु, कालिञ्चोकलगायतका स्थानमा यो महोत्सव भइसकेको आयोजकका अध्यक्ष रामबहादुर थापाले बताए ।

अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिए । यो महोत्सवले मर्दी हिमाल पदयात्रालाई झनै प्रचारप्रसार गर्ने गौतमले विश्वास व्यक्त गरे । गौतम मर्दी हिमाल पदयात्राका मार्गका प्रवद्र्धक हुन् ।

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय (संघ), गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाईन क्लबलगायतका संस्था तथा मन्त्रालयले सहकार्य गरेका छन् ।

महोत्सव अन्तरगत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धी वृत्तचित्रहरु प्रदर्शन गरिने अधिकारीले जानकारी दिए ।
संस्थाले ६ पटकसम्म लाङटाङ क्षेत्रमा स्की सम्बन्धी तालिम गराइसकेको छ । यसैगरी धौलागिरी हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको व्यालेन्स हिमाल, गोसाईंकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङलगायतका स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

महोत्सवमा सबै क्षेत्रका मानिसहरुले भाग लिन पाउने जनाइएको छ । तर आयोजकले भने, पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय मानिस लाभान्वित हुने विश्वास गरिएको छ ।
महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवद्र्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्की सम्बन्धी सीप हस्तान्तरण हुने, नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले विश्वास व्यक्त गरे ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले मर्दी हिमालमा हुने स्की महोत्सवले कोरोना महामारीमा थलिएको पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले यो महोत्सवमा सहकार्य गर्न पाउनु नेपालको पर्वतारोहण पर्यटनमा नयाँ आयाम थपिने दावी गरे ।

प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.