www.tandavnews.com
Fact ~ In search of truth

जाजरकोट–जुम्ला सुरूङ मार्गः सम्भाव्यता अध्ययन सुरू

जाजरकोट

जाजरकोट–जुम्ला जोड्ने सुरूङ मार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका– ८ इमिल्चाघारी जोड्ने सुरूङ मार्ग निर्माण हुने भएको हो ।

यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र ‘क्यूआरडिसी’ ले सूचना जारी गरिसकेको छ । सुरूङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरूङ मार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

Batas

‘सुरूङ मार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो’, उनले भने, ‘जाजरकोट र जुम्ला जोड्ने सबभन्दा छोटो सुरूङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ ।’

जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरूङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए ।

‘हामीले सुरूङ मार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं’, नेकपा ‘माओवादी केन्द्र’ का नेता तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले भने, ‘सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ।’

जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरूङ मार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । ‘यो सुरूङ मार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ’, उनले भने, ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं’, उनले भने ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.