www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणमा पोखरेली ७ खेलाडी छनोट

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज

नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणका लागि पोखरेली ७ खेलाडीले आफ्नो स्थान बनाएका छन् । पोखरामा पहिलोपटक एन्फाको फुटसल विभागले असोजमा सम्पन्न गरेको राष्ट्रिय फुटसल लिगको खेल प्रदर्शनका आधारमा फुटसल टिमका मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा उक्त खेलाडी छनौट भएका हुन् ।

एन्फाको कलिङमा लिग च्याम्पियन स्पोर्टस् क्यासलबाट काठमाडौंका सुरज गुरुङसहित ५ जना पोखरेली र सविन मेमोरियलका २ गरी जम्मा ७ पोखरेली खेलाडीले बन्द प्रशिक्षणका लागि स्थान पाएका एन्फाले जारी गरेको सूचनामा उल्लेख छ । सो सूचनाअनुसार स्पोर्टस् क्यासलबाट गोलरक्षकमा विश्वास पौडेल, पिभोटमा खिम गुरुङ, किशोर गुरुङ (सुशन) र अभिनाश तामाङ छनौट भएका छन् । यसैगरी एएलएमा सुमित श्रेष्ठ (मेस्सी), रोशन छन्त्याल र मनोज गुरुङले मौका पाएका छन् ।

Batas

किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुने एसियन कप छनोटका लागि नेपाली टोली निर्धारण गर्न आगामी शुक्रबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ । पहिलोचरणको बन्द प्रशिक्षणका लागि देशभरबाट कूल ३२ खेलाडीले मौका पाएका छन् ।

एन्फाको अनुसार गोलकिपरतर्फ अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिव तामाङ, सुमित कुमार आले छनौट भएका छन् । भने फिक्सोतर्फ अरुज सिंह, विजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ कलिङमा परेका छन् । यसैगरी पिभोटतर्फ विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठले स्थान पाएका छन् । भने एएलएतर्फ आदिल हमाद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मणि कुमार लामा, रञ्जित गुरुङ, सुरज गुरुङ, उर्केन शेर्पा छनौट भएका छन् ।

न्यू फेसबाट आशा ठूलो गरेको छुः टिम व्यवस्थापक गुरुङ

पोखरेली खेलाडीहरुले बन्द प्रशिक्षणमा स्थान पाउनु गौरवको विषय रहेको स्पोर्टस् क्यासलका टिम व्यवस्थापन ओम गुरुङले बताए ।

उनले नयाँ खेलाडीहरुले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा आफ्नो स्थान बनाएको बताउँदै अन्तिमचरणमा पनि टोलीको सदस्यमा चुनिने आशा व्यक्त गरे । ‘हाम्रो टिमबाट ५ जना न्यू फेसका भाईहरुले चान्स पाको छ र १ जना अनुभवि खेलाडी परेको छ भने २ वटा सविनको भाईहरु छन्, उनले भने, ‘आशा गरेका छु । त्यही भएर म पनि काठमाडौं जाँदैछु । पोखराबाट न्यू फेस छ । देशको टोलीमा पनि छनौट हुन्छ र केही गर्छ भन्ने ठूलो आशा छ ।’

राष्ट्रिय टिममा डेव्यु गर्ने हुटहुटी

असोज २ देखि २२ गतेसम्म पोखरामा सञ्चालन भएको हरेक खेलको उत्कृष्ट प्रदर्शनबाट बन्द प्रशिक्षणका लागि ३२ जना छनौट भए । उदीयमान खेलाडीको रुपमा घोषित भएका पोखरेली खेलाडी सुमित श्रेष्ठ पनि बन्द प्रशिक्षणमा मौका पाएका छन् ।

लिग चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण मेस्सी नामबाट लोकप्रिय बनेका सुमितले धेरै प्रशंसक बटुले । अहिले बन्द प्रशिक्षणका लागि कलिङमा परेपछि खुशी व्यक्त गर्दै भन्छन्, ‘म निकै उत्साहित छु । अब काठमाडौं जाने तयारीमा छु । मेन्टल्ली अनि फिजिकल्ली फुल्ली प्रिपेयर्ड छु । आफ्नो हण्ड्रेड दिने हो । राष्ट्रिय टिमबाटै डेव्यु गर्ने हुटहुटी छ ।’

त्यसैगरी राष्ट्रिय टोलीमा स्थान बनाउनका लागि आफ्नो शतप्रतिशत दिएर मेहेनत गर्ने गोलरक्षक विश्वास पौडेल बताउँछन् । ‘कस्लाई रहर नहोला र देशका लागि खेल्ने, उनी भन्छन्, ‘कलिङमा पर्छु भन्ने केही संकेत पहिल्यै पाएको थिए । त्यसैले त्यति धेरै उत्साहित भएन । म तयारी मै थिए । अब आफ्नो बेस्ट दिने हो । देशका लागि खेल्ने रहर त सबैलाई हुन्छ नी ।’

त्यसैगरी बन्द प्रशिक्षणका लागि कलिङमा परेका अर्का पोखरेली खेलाडी अभिनाश तामाङ पनि उत्साहित छन् । तर लिगको अन्तिमचरणको खेलमा घाईते भएका उनी अझै पनि घाईते छन् । उनका अनुसार उनको खुट्टाको लिगामेन्ट टियर भएको थियो । बन्द प्रशिक्षणका लागि छनौट भएका उनले उत्साहित भएको बताउदै भने, ‘उत्साहित त छु त्यहाँ गएर धेरै कुरा सिक्न पाईन्छ । तर ईन्जुरर्ड छु । भन्न त १/२ महिनामा ठीक हुन्छ भनेको छ ।’

पुरस्कार राशी रोक, खेलाडी छनौट

लिग सम्पन्न भएको ३ महिना बितिसक्दा समेत घोषित पुरस्कार राशी नपाएपछि निराश थिए । तर बन्द प्रशिक्षणका लागि छनौट भएपछि भने उनीहरुमा केही उत्साह थपिएको छ । एन्फाले सूचना जारी गर्दै बन्द प्रशिक्षणका लागि ३२ जना खेलाडीलाई डाके पनि अझै विजेता बनेको स्पोर्टस् क्यासल १० लाख र उपविजेता शंखमुल फुटसलले ५ लाख पाएको छैन ।

यतिमात्र नभई विधागततर्फका पुरस्कार राशीहरु, १ रेफ्री ईन्स्ट्रक्टर, २ जनरल कोअर्डिनेटर, २ म्याच कमिस्नर र ११ म्याच रेफ्री गरी कूल १६ अफिसियलहरु पनि आफ्नो पारिश्रमिकदेखि बञ्चित छन् । उनीहरुले लिग सम्पन्न गर्ने जिम्मेवारीसहित करिब ५ लाख बढी रकममा पारिश्रमिक पाउने गरि सम्झौता गरिएको थियो ।

त्यसैगरी लिगमा सहभागी १० टिमले तयारी खर्चवापत ५० हजारको दरले रकम लिन अझै पाएका छैनन् । तर एन्फा अन्तर्गत फुटसल विभाग प्रमुख विनोद गुरुङले आगामी हप्ता बक्यौता रकम चुक्ता गरिने बताउँदै आएका छन् ।

बन्द प्रशिक्षणमा छनौट भएका पोखरेली खेलाडीहरु:

 

सुमित श्रेष्ठ ‘मेस्सी’
गोलरक्षक विश्वास पौडेल
किशोर गुरुङ ‘सुशन’
अविनाश तामाङ
रोशन छन्त्याल
मनोज गुरुङ
खिम गुरुङ (रातो जर्सी)

सम्बन्धित समाचारहरुः

उधारो फुटसलः अफिसियलले पनि पाएनन् पारिश्रमिक

उधारो ‘फुटसल लिग’ : अझै पाएनन् नगद पुरस्कार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.