www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत

सानेबहादुर नेपाली

तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत रहेका छन् । जिल्लामा सञ्चालित १९ मध्ये दश उद्योगलाई बन्द गराउने निर्णय पश्चात बन्द गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी गठित नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले त्यस्ता उद्योगलाई बन्द गराएको हो । सञ्चालनमा रहेका ९ उद्योग पनि नवीकरणबिना नै सञ्चालन गर्दै आएको जिससका नायव सुब्बा नरबहादुर सार्कीले जानकारी दिए । नवीकरणबिना सञ्चालनमा रहेका ती क्रसर उद्योगलाई पटकपटक मापदण्डमा आउन निर्देशन दिए पनि अहिलेसम्म निर्देशनको पालना नगरेको उनले बताए ।

Batas

जिल्लाको शुक्लागण्डकी– २ को सिद्धेश्वर एग्रिगेट एण्ड क्रसर उद्योग, शुक्लागण्डकी– ७ को एसिक्स एग्रिगेट कम्पनी प्रालि, सोही नगरपालिका– २ को एसएनएल एग्रिगेट एण्ड क्रसर उद्योग प्रालि र मेलमिलाप ढुंगा, बालुवा गिटी उद्योग प्रालिलाई बन्द गर्न निर्देशन दिइएको हो ।

त्यसैगरी, शुक्लागण्डकी– ५ मा रहेको प्रोफर कन्स्ट्रक्सन एण्ड क्रसर, म्याग्दे गाउँपालिका– ३ को अकला रुद्रदेवी गिटी बालुवा उद्योग, सोही गाउँपालिका– ४ को दोभान ब्लक एण्ड एग्रिगेट क्रसर उद्योग, वडा नं ५ मा रहेको ढोरबाराही एग्रिगेट क्रसर उद्योग, बन्दिपुर गाउँपालिका– ६ को नमूना ग्रिड एण्ड क्रसर उद्योग र शुक्लागण्डकी नपामा रहेको जयमहालक्ष्मी क्रसर उद्योग प्रालिलाई बन्द गर्न निर्देशन पश्चात बन्द गरिएको जिसस तनहुँले जनाएको छ ।

घरेलु तथा साना उद्योग समितिका प्रमुख नारायणप्रसाद ढकालले पनि जिल्लाभित्रका अधिकांश क्रसर उद्योगहरु मापदण्ड विपरीत रहेको बताए । ती क्रसर उद्योगलाई मापदण्डमा आउन पटकपटक पत्राचार गरिए पनि बेवास्ता गर्दै आएको उनले जानकारी दिए । जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले मापदण्ड विपरीतका १० वटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको हो ।

जिल्लाभित्र सञ्चालनमा रहेका १९ वटै क्रसर उद्योगको नवीकरण नभएको र घरेलु तथा साना उद्योग समितिको कार्यालयमा दर्ता भएका ९ वटा उद्योगलाई मात्रै सञ्चालनको अनुमति दिइएको उनले जानकारी दिए । अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाभित्र सञ्चालित क्रसर उद्योग अधिकांश मापदण्ड विपरीत रहेको बताए ।

ती उद्योगलाई मापदण्ड अनुरुप सञ्चालन गर्न पटक पटक निर्देशन दिइए पनि अटेर गर्ने गरेकोले अब छिट्टै अनुगमन समितिको बैठक बसी क्रसर उद्योगको अनुगमन गरी मापदण्ड विपरीत सञ्चालनमा रहेका बन्द गराइने उनले बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.