www.tandavnews.com
Fact ~ In search of truth

नागरिकले सोध्न थाले ‘खोई बतासको अक्सिजन ?’ पर्खाईमा वित्यो ९ महिना, अझै १ महिना लाग्ने आश्वासन

पोखरा
ताण्डव न्यूज ।

कोरोना महामारी फेरि बढ्ने त्रास बढ्दो छ । अफ्रिकामा फेला परेको कोरोना भाईरसको नया भेरियण्ट ओमिक्रोनका कारण विश्वका धेरै देशहरु त्रसित छन् ।

नेपालमा पनि अफ्रिकाबाट आएका दुईजनामा यस भेरियण्टको पुष्टी भइसकेको छ ।  पहिलो र दोश्रो लहरका क्रममा नेपालका अधिकांस अस्पतालहरुमा अक्सिजको अभाव भयो । गण्डकी प्रदेशकै राजधानी पोखराका अस्पतालहरुमा पनि कतिपय अस्पतालमा अक्सिजन अभावकै कारण  बिरामीले ज्यान गुमाउन बाध्य भए ।

Batas

अक्सिजनको यहि अभाव पूरा गर्न पोखराको प्रतिष्ठित बतास फाउण्डेशनले अक्सिजन प्लाण्टको अभियान सुरु गर्यो । तर बतासले थालेको यो अभियान अहिलेसम्म पनि टुंगोमा पुग्न सकेको छैन ।

बतासको अभियानबारे नागरिकस्तरबाट समेत आवाज उठ्न थालिसकेको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा नागरिक समाजका अभियन्ता रामबहादुर पौडेलले बतासको अक्सिजन प्लाण्टबारे कुरा उठाएका छन् । उनले लेखेका छन ‘बतास फाउण्डेशनको अक्सिजन प्लान्ट अभियान के हुँदैछ ?’ उनको स्ट्याटसमा धेरैले बतासप्रति आक्रोस पोखेका छन् भने केहिले बतासको आलोचना समेत गरेका छन् ।

आफैले लेखेको उक्त स्ट्याटसका कमेण्टहरुपछि पौडेलले लेखेका छन् “बतास अर्गनाइजेसन जस्तो प्रतिष्ठित व्यापारिक घरानाद्वारा स्थापित बतास फाउण्डेशनले जुन उद्देश्यका लागि आर्थिक सहयोग उठाएको हो, सोही अनुसार इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरोस् भन्ने हाम्रो चाहना हो । पोखराको प्रतिष्ठा सँग जोडिएको विषय समेत भएकोले आर्थिक सहयोग गर्ने अधिकांश नागरिक लगायत संघसंस्थाले यस सम्बन्धमा हामीसँग जिज्ञासा राख्नुभएको छ। कृपया, सार्वजनिक रुपमा जानकारी हुनेगरी ग्उमबतभ गरिदिनु हुन सविनय अनुरोध गर्दछौं । हाम्रो आशय सकारात्मक सन्देश प्रबाह गर्नका लागि हो अन्यथा होइन। कृपया, तपाईंहरुमाथि पोखरेली आम समुदायले दर्शाएको विश्वास, माया र भरोसालाई जीवन्त राखिदिनुस् । धन्यवाद !”

साथै विभिन्न कमेण्टहरुमा बतास अर्गनाईजेशनप्रति आरोप–प्रत्यारोप समेत भएका छन् । रकम संकलन गरेर प्लाण्ट खरिदका लागि गरिएको सम्झौता अनुसार काम हुन नसक्दा प्लाण्ट ल्याउने योजनामा निकै ढिलाई भएको नागरिकहरुले महशुस गर्न थालेका छन् ।

अक्सीजन प्लाण्ट अभियानबारे के भन्छन् बतासका प्रतिनिधि ?

कोरोना महामारी बढ्न थालेसँगै फाउण्डेशनले गत बैसाख ३० गतेदेखि सहयोग संकलन अभियान सुरु गरेको थियो । तर अभियान सुरु गरेको ९ महिना बित्दा समेत बतासले ल्याउने भनेको अक्सिजन प्लाण्ट अहिलेसम्म पनि पोखरा आईपुगेको छैन ।

प्लाण्ट खरिदका लागि कम्पनी समेत छनौट गरिसकेको फाउण्डेशनले यसअघि साउनको अन्तिमसम्म प्लाण्ट आईसक्ने भन्दै प्रेस विज्ञप्तिसमेत जारी गरेको थियो । तर तोकिएको समयमा पनि प्लाण्ट आउन नसकेपछि म्याद फेरि सरेको छ ।

फाउण्डेशनका कोषाध्यक्ष एवं प्रवक्ता नारायण पौडेलले यसअघि भदौ महिनाको अन्तिम हप्तासम्म प्लाण्ट आईपुग्ने दाबी गरेका थिए । तर अहिलेसम्म पनि प्लाण्ट पोखरा ल्याईएको छैन ।

प्लाण्ट ल्याउने विषयमा केहिदिन अघि ताण्डव न्यूजसंग कुराकानी गर्दै कोषाध्यक्ष पौडेलले अबको एक महिनाभित्र प्लाण्ट ल्याईसकिने दाबी गरेका थिए । एक हप्तामा सबै अपडेट गराउँछु भनेका प्रवक्ता पौडेलसँग पटकपटक ताण्डवले जवाफ मागेको छ । तर उनले विभिन्न बहानाकासाथ अप्ठेरो महशुस गर्दैै जानकारी दिने गरेका छन् ।

‘यस विषयमा आनन्द बतासले नै विज्ञप्ति निकालेर जानकारी दिने भन्नुभएको छ, उनले भने “त्यो उतैका कारण ढिलाई भएको हो, पैसा पनि पठाईसकियो, डेलिभरी दिन ढिला भयो सामाजिक काम गर्दा यस्तै हुँदो रहेछ, ढिलाई भयो के गर्ने ?’ उनले भने ।

‘टाइममा डेलिभरी नदिँदा हामीलाई लाजमर्दो नै भयो’ उनले भने अबको करिब १ महिनाभित्र आईसक्ने कुरा छ ।’ पौडेलले यसो भनेको समेत आज १७ दिन बितिसकेको छ । यस विषयमा ताण्डवले राखेको जिज्ञासामा पौडेलले थप जानकारी गराउने भन्दै थप कुरा गर्न मानेनन् ।

अक्सिजन प्लान्ट अभियानका संयोजक एवं बतास फाउण्डेशनका अध्यक्ष आनन्द बतासको नेतृत्वमा गठन भएको तदर्थ समितिले फ्रान्सको मेडिअक्सी प्रालिलाई छनोट गरी आयात र प्लान्ट स्थापना गर्ने अर्डरसमेत गरिसकेको फाउण्डेशनले जनाएको छ । रु ३ करोड ७ लाख ३६ हजार ५ सय अग्रिम भुक्तानी गरी ५० सिलिण्डर प्रति दिन अक्सिजन उत्पादन गर्ने ३ वटा अक्सिजन प्लान्ट र १ वटा फिलर सिस्टम अर्डर भईसकेको र फ्रान्सबाट कार्गो मार्फत नेपालमा ल्याउने भनिएको छ ।

सुरुमा फाउण्डेशनले ‘रु १०० दान, माहामारिमा प्राण’ भन्ने नाराका २५ लाख रुपैयाँ जम्मा गरेर सुरु भएको उक्त अभियानमा धेरै पोखरेलीहरु जोडिएका छन् । उनीहरु सबै अहिलेपनि प्लाण्ट आउने आशमा प्रतिक्षा गरिरहेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.