www.tandavnews.com
Fact ~ In search of truth

भोजनका लागि भजन सन्ध्याबाट रकम संकलन

हरि बाँस्तोला
गण्डकी

पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमका लागि रु ५ लाख ५० हजार सहयोग प्राप्त भएको छ । आकाशलाई छानो र धर्तीलाई विछ्याउना बनाउन बाध्य सडक मानवलाई उद्धार गर्ने लक्ष्यका साथ आश्रम निर्माण गरिएको थियो । आश्रममा आश्रितको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु ५ लाख ५० हजार संकलन गरिएको हो ।

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रमा आवद्ध ३० जनाले खानाका लागि उक्त रकम दिएका थिए । तीमध्ये पूर्वमन्त्री हरि पाण्डेलले रु एक लाख ४२ हजार, सिका शेरचन र विष्णु गुरुङले जनही रु एक लाख ११ हजार १११, गोरख जैसवालले रु ३५ हजार पाँचसय, सोनिया गुरुङले भवन निर्माणका लागि रु पचास हजार सहयोग गरेका छन् ।

Batas

विसं २०७४ चैत १७ मा तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी, आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र पोखरा आश्रमका संरक्षक डा गोविन्द टण्डनले सहरका विभिन्न स्थानमा कष्टकरजीवन बिताउन बाध्य २३ जनालाई प्रवेश गराएर सेवा सञ्चालन गरिएको आश्रममा हाल १५० जना छन् । आश्रममा आश्रितको एक छाक खानाका लागि रु १५ हजार ५००, विशेष खानाका लागि रु २२ हजार ५०० र एक दिनको खानाका लागि रु ३५ हजार ५०० जम्मा गर्नुपर्ने व्यवस्था गरिएको आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

भजन सन्ध्या शुभारम्भ गरेका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सडकमा कष्टकर जीवन बिताउन बाध्य मानवको सेवामा समर्पित यस आश्रमले राज्यले गर्नुपर्ने दायित्व निर्वाह गरेको बताए । संविधानले व्यवस्था गरेको जनताका मौलिक अधिकार रक्षाका लागि राज्यले नै पहल गर्नुपर्नेमा जोड दिँदै उनले विकास निर्माणसँगै नागरिकका आधारभूत आवश्यकता पूरा गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले यो प्रदेश सडक मानवमुक्त प्रदेश घोषणा भइसकेकाले अब यसको निरन्तरताका लागि सबैको साथ र सहयोग आवश्यकपर्ने बताए । उनले आश्रममा आश्रित १५० जनाको स्वास्थ्य बीमा प्रदेश सरकारले गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विजयपुरस्थित नेपाली सेना मध्यकमाण्डका सेनापति बाबुराम श्रेष्ठले जन्मदाता र जन्मभूमिको कर्तव्यप्रति जिम्मेवार हुने खालको नैतिक शिक्षा आवश्यक भएको बताए । गण्डकी विश्वविद्यालयका सल्लाहाकार प्राडा मेधिनिप्रसाद भण्डारीले मानवसेवाजस्तो धर्म अरु कुनै नहुने बताउँदै राष्ट्र निर्माणमा यस आश्रमको महत्वपूर्ण भूमिका रहेको बताए ।

आश्रमका परिकल्पनाकार रामजी अधिकारीले एक दशकको अवधिमा संस्थाले ६ हजार ३७२ जनालाई सेवा प्रदान गरेकामा २ हजार ४५९ जनाको पारिवारिक पुनःमिलन भएको, एक हजार ७१७ उपचारपछि स्वेच्छाले घर फर्केको, ३६२लाई पुनरस्थापन गरिएको, १७२ जनालाई पुनःउद्धार गरेर ल्याइएको र ६४८ जनाको निधन भएको र हाल आश्रित एक हजार ५६७ जना रहेको जानकारी दिए ।

विसं २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त राष्ट्रघोषण गर्ने अभियान संस्थाले लिएको बताउँदै अध्यक्ष अधिकारीले पोखरा– २५ स्थित हेमजामा लगभग रु २० करोडको लागतमा सुविधा सम्पन्न आश्रम निर्माण गर्न लागिएको र यसका लागि सहयोग गर्न सबैसँग अनुरोध गरे । मुलुकका सातै प्रदेश अन्तर्गत १७ कार्यालय र २४ शाखामार्पmत उद्धारको कार्य भइरहेको बताउँदै उनले यस संस्थाले दातृराष्ट्रको कुनै पनि सहयोग नलिइ आन्तरिक रुपमै समस्या समाधान गर्दै आएको बताए ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवलाई उद्धार गरी उपचार पश्चात आश्रममा राख्नेर आयआर्जनमा समेत लगाउने गर्दै आइएको छ । गण्डकी प्रदेशसभा सचिव हरिराम पोखरेल, संस्थाका उषा गोशली, आश्रमका प्रमुख होमनाथ तिमिल्सिना, राजन सापकोटालगायतले संस्थाले निर्वाह गरेको खेलेको भूमिका बारे चर्चा गरेको थियो ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.