www.tandavnews.com
Fact ~ In search of truth

घाटदेखि दरबारसम्म ‘बतास राज’

सांस्कृतिक सम्पदाका ठाँटी पनि नछाड्ने बतास नीति

पोखरा
ताण्डव न्यूज ।

व्यावसायिक घराना बतास अर्गनाइजेसन यतिबेला नारायणहिटि दरबार संग्राहलयका कारण विवादमा तानिएको छ । दरबार परिसरमा रहेको संग्राहलयको १० रोपनी जग्गामा रेष्टुरेण्ट संचालन गर्न लागेको सार्वजनिक भएसँगै बतास विवादमा आएको हो ।

‘पोलिटिकल पावर’कै कारण सस्तोमा टेण्डर हत्याएर बतास समूहले उक्त स्थानमा रेष्टुरेण्टको संरचना समेत तयार गर्दै थियो । संग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको भाडामा दिइएको जग्गामा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृत बिना बतास समूहको बि म्यानेजमेन्ट प्रालिले रेस्टुरेन्ट बनाउन सुरू गरेको थियो ।

Batas

व्यापक विवादपछि पर्यटन मन्त्री प्रेम आलेको ठाडो निर्देशनमा उक्त संरचना निर्माण कार्य रोकिएको छ भने बनाइएका संरचनासमेत शुक्रबारबाट भत्काइएको छ ।

बतास समूह विवादमा आएको यो पहिलोपटक भने होइन ।

बतास समूहकै विपेन्द्रराज बतासबारे जग्गा विवादमा समाचार प्रकाशन गर्दा सो समूहले ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई साइबर क्राइमको मुद्दा लगाएको थियो । समाचारबारे असहमति भए वा चित्त नबुझे प्रक्रियाअनुसार प्रेस काउन्सिलमा उजुरी गर्नुपर्नेमा विपेन्द्रराज बतासले शक्तिको प्रयोग गर्दै साइबर क्राइमको मुद्दा हालेर सम्पादक गिरीलाई बद्नियतपूर्ण तवरबाट पक्राउ गराएका थिए ।

प्रेस काउन्सिलमा दर्ता भएको समाचार संस्थालाई नाम तोडमोड गर्न लगाएर ‘दर्ता छैन’ भन्ने पारेर साइबर ब्यूरोमा गएका थिए विपेन्द्रराज बतास । ब्यूरोले सम्पादक गिरीलाई पक्राउ गरेर पोखराबाट काठमाडौं पुर्याएको थियो । देशभरका पत्रकारको आन्दोलनपछि सम्पादक गिरीलाई छोड्न बाध्य भएको थियो ब्यूरो ।

त्यसपछि बतासको विवाद सुरु भयो पोखराकै सेतो सुन मानिने रामघाटमा । यहाँ पनि बतास समूहको ‘बि रिभर माइनिङ प्रालि’ले ३५ वर्षका लागि ठेक्का लिने दाउ सुरु भयो । कानुनकै धज्जी उडाउँदै महानगरसँगको साठगाँठमा रामघाट हत्याउने कुरा बाहिरिएपछि विवादमा आयो बतास ।

यसबारे ताण्डव न्यूजमा प्रकाशित समाचार यहाँ लिंकमा उल्लेख छ ।

रामघाटको ३५ वर्षे ठेक्का काण्डः कानुन भन्छ, ‘दिनै मिल्दैन’

बतासको अर्को विवादित अभियान बन्यो, अक्सिजन प्लान्ट । देशमा दोस्रो ‘कोरोना वेभ’ सुरुभएपछि लिक्विड अक्सिजनको अभाव भयो । अक्सिजन अभावकै कारण कैयौंले ज्यान गुमाए । सोही समयमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा अक्सिजन प्लान्ट बनाउने उद्देश्यसहित रकम सहयोग उठाउन सुरु भयो । अभियानमा खुलेरै साथ दिए पोखरेली लगायत देशविदेशका नेपालीहरुले फलस्वरुप ३ करोड बढी रकम जुट्यो । तत्काल प्लान्ट स्थापना गर्ने भनी सुरु भएको अभियान रकम जुटेर महिनौँ बितिसक्दा पनि अत्तोपत्तो छैन । यद्यपि अर्को अक्सिजन प्लान्ट स्थापना भइसकेको र आवश्यक नरहेको अस्पतालले जनाएको छ । बतास समूहका अध्यक्ष आनन्दराज बतासले शनिबार एक टेलिभिजनमा प्लान्ट ल्याउन प्रक्रिया भइरहेको र ढिलाई भएको स्वीकारेका छन् । यस अभियानप्रति पनि पोखरेली लगायत आम नेपालीको विश्वासमाथि कुठाराघात भएको छ ।

केही समयअघि बतास समूहले कास्कीमा एग्रो फार्म सञ्चालन गर्न भनि ‘किसान आवश्यकता’ विज्ञापन सार्वजनिक गरेको थियो । उक्त एग्रो फार्म पनि विवादमा तानियो । सरकारी कृषि अनुदान पार्नकै लागि फार्म खडा गरिएको आरोप छ बतास समूहलाई । जसबारे हिमाल साप्ताहिकको खोजमा प्रकाशित छ ।

हेर्नुहोस् :

धनी व्यापारीको पोल्टामा कृषि ऋणको अनुदान

पोखराबाट उदाएको बतास अर्गनाइजेसनले काठमाडौंको पशुपतिको धर्मशालामा लज, टंगालको लक्ष्मीनारायण मन्दिरको ५ रोपनी १० आना जग्गा र ४ तले घर ३५ वर्षका लागि भाडामा लिएर व्यापारीक प्रयोजनमा लगाएको छ ।

पोखरा नयाँबजारस्थित प्रदेश संग्राहलयको संरचनामा पनि बतास समूहकै रजगज छ । सम्झौता सकिएपनि संग्राहलयको जग्गामा निर्वाध व्यापार भइरहेको छ । प्राइम लोकेसनमा सस्तो भाडा भएकै कारण उक्त स्थानमा पोलिटिकल पावर लगाएरै भएपनि सम्झौता थप गर्ने तयारी बतासको छ ।

बतास विवादमा आएको अर्को विषय हो, गण्डकी प्रदेशकै ठूलो मणिपाल अस्पतालबारे । बतास अर्गनाईजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज प्रालिका नारायण पौडेल मिलेर सरकारी सम्झौता विपरित अस्पताल खरिद गर्न लाग्दा सरकार र नियमनकारी निकायलाई पत्तो नै भएन । आश्चर्य ! सरकारसँग मणिपाल ग्रुपले गरेको दुईपक्षीय सम्झौता खरिदविक्री हुँदा नियमनकारी निकायलाई समेत दबाबमा पारेर राजनीतिक शक्तिकै आडमा मणिपाल हत्याएको आरोप बतास समूहलाई लागेको छ । मणिपाल विक्री प्रकरणमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयका सचिवसँग सम्झौता माग गर्दा समेत आलटाल गरिएको छ ।

नारायणहिटि संग्राहलयमा क्याफे र रेष्टुरेण्ट संचारमाध्यमको हेडलाइन बनेपछि पावरकै कारण बतासले के के गरे ? के गर्दैछन् ? कसरी आफ्नो पोल्टामा सरकारी जग्गा र प्रोजेक्ट पार्न सिपालु छन् ? सबैको चासो विषय बनेको छ ।

संग्राहलयको समाचारसँगै बतासका अन्य ‘होमवर्क’ पनि बाहिरिन थालेका छन् ।

पोखराको घाट, काठमाडौंको दरबार हुँदै बतास अर्गनाइजेसन गतवर्ष मात्रै भाइरल भएको मानहुँकोट पनि उक्लिएको छ । मानहुँकोटको सुन्दर दृश्य सञ्जालमा भाइरल भएपछि त्यहाँ पर्यटकको आइरो लागेको थियो । ब्यास नगरपालिकाले बतास समूह अन्तर्गतको व्यास हिल्स प्रालिलाई उक्त स्थानको ४० रोपनी जग्गा ५० वर्षका लागि भाडामा दिने तयारी गरेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.