www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

अञ्नना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलीसम्म जारी रहनेछ ।

प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघसंस्थाको सहभागिता हुने गर्दछ ।

Batas

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ ।

यस वर्ष पनि पुस १७ देखि माघ ५ ‘जनवरी १ देखि १९’ सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।

दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केहि पथ प्रर्दशकहरु, नेपाल पंक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पंक्षी समाजको संलग्नतामा गर्दै आएको छ ।

पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपंछी गणना कार्यक्रम गरिने टाइगर माउण्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिए ।

यसबर्ष टाइगर माउण्टेन पोखरा लज, पोखरा पंछी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पंक्षी संरक्षण संघ पोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताए ।

हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।

– प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.