www.tandavnews.com
Fact ~ In search of truth

मौलिक पर्व नेपाली समाजको एकताको प्रतीक होः अध्यक्ष प्रचण्ड

काठमाडौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतीकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका हुन् ।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताए ।

Batas

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै उनले नेपाल भौगोलिक एवम् सांस्कृतिक विविधताले भरिएको मुलुक भएको स्मरण गरेका छन् । शुभकामना सन्देशमा उनले भनेका छन्, “यी चाडपर्वले नयाँ उमङ्ग र उत्साहका साथ एकआपसमा एकता र भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका पनि छन् । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताको जग बलियो बनाउन पनि यस्ता सांस्कृतिक पर्वलाई आधार स्तम्भका रूपमा लिन सकिन्छ ।”

विश्वभर पुनः फैलिएको कोरोना भाइरसको महामारीका कारण हामीले आफ्ना पर्वलाई उत्सवका रूपमा मनाउन नसकेको भन्दै उनले महामारीबाट आफू, आफ्नो समाजलाई सुरक्षित गर्न र स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गर्न आग्रह गरेका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.