www.tandavnews.com
Fact ~ In search of truth

रानीमहल संग्रहालयमा परिणत

रामपुर

नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार संग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताए । रु १५ लाखबाट थालनी भएको काम हाल करिब रु ३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा बजेट बढाउँदै जाने बताए । उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित रु १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताउँछन् ।

Batas

नगरपालिकाका अधिकृत शंकर भण्डारीले करिब २ महिनाको निरन्तर मेहनतले दरबारलाई संग्रहालयको रुपमा विकास गर्न सकिएको बताए । उनले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको बताए । विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ ।

विसं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए । चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखापरेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ । तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.