www.tandavnews.com
Fact ~ In search of truth

‘अक्षर-अक्षरमा देश’ लोकार्पण

अञ्जना रेग्मी/हीरा बरुवाल
पोखरा, ताण्डव न्यूज

गजलकारका रुपमा परिचित दीपक समीपले मुक्तक संग्रह ल्याएका छन् । समीपको मुक्तक संग्रह ‘अक्षर-अक्षरमा देश’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृतिविमोचन गरे ।

साहित्यकार समीपले झन्डै २ दशक अघि ‘भूगोलमा नोकोरिएको देश’ कृति ल्याएका थिए । कृति विमोचन पछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकमा पहिलो पटक कविका रुपमा दीपकलाई भेटेको स्मरण गरे । साहित्यकार सरुभक्तले गजलकारका रुपमा सशक्त उपस्थिति जनाइरहेका समीपको मुक्तक कारका रुपमा भएको उपस्थिति आफूहरुका लागि पनि सन्तोषको कुरा भएको बताए । लेखक बन्ने भीडको वर्तमानमा कृति प्रकाशन गर्न हतारिनेका बीच दीपक स्थापित लेखक भएको बताए ।

Batas

तीर्थ श्रेष्ठले २०३४÷३५ सालतिर पोखरेली युवा सांस्कृतिक परिवारले हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर टिकटमा मुक्तक कार्यक्रम गरेको सम्झना गरे । उनले भने, ‘उनका मुक्तक सुनेरै हामीले मुक्तक कसरी लेख्ने र कसरी वाचनगर्ने भन्ने कुरा सिक्यौं ।’ कवि श्रेष्ठले मुक्तक लेखन सिन्धुलाई बिन्दुमा अटाउनु जत्तिकै कठिन कार्य भएको विचार राखे । ‘मुक्तक लेख्नु भनेको चौतारीमा बसेर गफ गरेजस्तो होइन,’ उनले भने, ‘छोटो लेख्नु भनेको कठिन कुरा हो ।’ मुक्तक लेखन चौतारीमा बसेर बात मारे जस्तो नभएको प्रमाण दीपकको मुक्तक सञ्चयन रहेको धारणा राखे ।

कवि रमेश श्रेष्ठले दीपकलाई अक्षर जन्माउन सक्ने मस्तिष्क भएका स्रष्टाका रुपमा चिनाए । गजल सञ्चयनप्रकाशनको लामो समयपछि मुक्तक सङ्ग्रहलिएर आएका स्रष्टा समीपले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेर अग्रजले देखाएको बाटोमा अनुज सँग हातेमालो गरेर हिँड्न चाहेको धारणा राखे । डा ईश्वरमणि अधिकारीले स्रष्टा चिनारी राख्दै दीपकलाई समकालीन साहित्यमा दीपक भएर बलिरहेको जिकिर गरे ।

कृति समीक्षा गर्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष सञ्जीवपौडेलले समीपलाई समसामयिक विषय चेतका स्रष्टाका रुपमा चिनाउँदै देशको समसामयिक परिवेश नै उनका मुक्तकका विषय रहेको बताए । समीपका मुक्तकमा खास गरी ५ थरी विषय समेटिएको जानकारी दिए । उनले मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद समीपको मुक्तकका विशेषता रहेको सुनाए । ‘वर्तमान राजनीतिक परिदृश्य प्रतिव्यंग्य उनका मुक्तकमा छ,’ पौडेलले भने, ‘नेता नांगै सत्ताको भर्याङ चढ्छ र मुक्तककार ठाउँको ठाउँको विद्रोह बोल्छन् ।’

पौडेलले मुक्तककार समीपले यथार्थको परिदृश्य मात्रै नदेखाई खबरदारी पनि गरेको सुनाए । कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाकापूर्व अध्यक्ष जीवनसागर भण्डारी, साहित्यकार रुपिन्द्र प्रभावी कटु, रीता अधिकारी, अर्जुन अधिकारीलगायतले बोलेका थिए ।

– प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.