www.tandavnews.com
Fact ~ In search of truth

आहा रारा गोल्डकप पहिलो खेलमा आयोजक र नेपाल एपिएफ भिड्ने

पोखरा, ताण्डव न्यूज

मौफसलको सर्वाधिक राशि पुरस्कार भएको आहा रारा गोल्डकपको २० औं संस्करण माघ ६ गतेदेखि सञ्चालनमा आउने भएको छ । सहारा क्लबको आयोजनामा माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पाहुना टोली बिवाईएससी र नेपाली ‘ए’ डिभिजन क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो खेल आयोजक सहारा क्लब र नेपाल एपिएफबीच रहनेछ ।

सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ अनुसार गत वर्षको विजेता टोली संकटा क्लब, पाहुना टोली बिवाईएससी माईनसोटा अमेरिका, मछिन्द्र क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब गरी कुल १० टिमले नकआउटको आधारमा प्रतिस्पर्धा गर्ने बताए ।
गुरुङले तत्काललाई केही दिन दर्शक बिना नै प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिए । ‘पहिलो चरणका खेलहरु दर्शक बिना नै गर्ने तयारी गरेका छौं । त्यसपछि कोभिडको अवस्था कस्तो रहन्छ त्यसैमा भर पर्छ,’ उनले भने, ‘हामीले टिकट पनि तयार गरिसकेका छैनौ । पास सिस्टमबाट खोप कार्ड अनिवार्य गरेका छौं ।’

Batas

प्रतियोगिताको विजेता टिमलाई नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने र उपविजेता टोलीलाई ५ लाख १ हजार रुपैयाँ प्रदान गर्ने उनले जानकारी दिए । यसपटकको प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको रहेको छ ।

पर्यटकीय सहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउने र पर्यटन प्रबद्र्धन गर्नुको साथै, नव प्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर उपलब्धगराउने उद्धेश्य रहेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडी सम्मान हुनेछन् । सम्मानित खेलाडीले ३५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्ला प्रदान गरिने उनले जनाए । प्रतियोगितामा निर्णायक ट्रफी (रेफ्री), वेस्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडी, फेयर प्ले एव खेलाडीले पनि पुरस्कार पाउने अधिकारीले जानकारी दिए ।

प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सिताजको तर्फबाट अप्रिला स्कुटर प्राप्त गर्नेछ । स्मरण रहोस्, १९ औं संस्करणको आहा रारा गोल्डकपको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउला,क्यामरुन रहेको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.