www.tandavnews.com
Fact ~ In search of truth

सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम

सोलुखुम्बु ।

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।

यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्यानो बनाएर राख्ने काम गरेका छन् भने अन्य सरकारी कार्यालयका कर्मचारीले समेत सोही विधि अबलम्बन गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए ।

Batas

पर्यटकीय समय सकिएसँगै यस क्षेत्रका अधिकांश बासिन्दा चिसो छल्नकै लागि राजधानी काठमाडौँलगायत क्षेत्रमा जाने गर्छन् । यस वर्ष पनि धेरैजसो व्यक्ति चिसो छल्न खुम्बु छाडेका छन् भने दैनिक सय हाराहारीमा उडान हुने तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा अहिले दैनिक २/३ उडानमा सिमित बनेको छ ।

खुम्जुङ क्षेत्रका करिब ७० प्रतिशत मानिस चिसो छल्न काठमाडौँ गएको स्थानीयवासी पेमायाङ्जी शेर्पाले बताए । घरमा ताल्चा लगाएर नै सबै परिवार काठमाडौँ गएको उनले जानकारी दिए ।

शान्ति सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीले भने दैनिक गस्ती गर्ने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जसमेत भएकाले चोरी शिकारीलगायत अन्य घटना हुन नदिन प्रहरी सधैँ सक्रिय हुनुपर्ने भएकाले सोहीअनुसार ड्युटीमा खटिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले बताए ।

प्रहरीचौकीमध्ये सबैभन्दा बढी उचाइमा खुम्जुङ प्रहरीचौकी पर्छ । पाइपमा पानी जमेका कारण २० मिनेट टाढा मुहानको पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्रहरी चौकी खुम्जुङका इन्चार्ज प्रहरी हवलदार जय ढकालले बताए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.