www.tandavnews.com
Fact ~ In search of truth

एपिएफ १४ वर्षपछि ‘आहा ! रारा गोल्डकप’को फाइनलमा

कास्की ।

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहा! रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा जारी २०औँ संस्करणको सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ उपाधि नजिक पुगेको हो ।

पहिलो हाफको खेलमा दुवै टोलीबाट समान एक÷एक गोल भएकामा दोस्रो हाफमा एपिएफले दुई गोल गर्न सफल भयो । दोस्रो हाफको २० मिनेट मच्छिन्द्र १० खेलाडीमा सीमित भएर खेलेको थियो । पहिलो हाफको २५औँ मिनेटमा एपिएफका सनिश श्रेष्ठले मणि लामाको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता बनाए । मच्छिन्द्रले पनि खेलको ४०औँ मिनेटमा ओमोलाजा करिमको हेडिङ गोलमार्फत खेल बराबरी गर्न सफल भयो । कप्तान रञ्जित धिमालको फ्रिकिकमा डिफेण्डर करिमले गोल गरेका थिए ।

Batas

एपिएफले खेलको ६८औँ मिनेटमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित प्रदीप लामाको गोलबाट खेलमा पुनःअग्रता बनायो । खेलको ७०औँ मिनेटमा मच्छिन्द्रका गोलकर्ता ओमोलाजा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित भएको भएको थियो ।

खेलको पाँच मिनेटका इन्ज्युरी समयको अन्तिम मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्दै शहीद स्मारक ए डिभिजन लिगको लिग लिडर मच्छिन्द्रसँगको गोल अन्तर फराकिलो बनाउनुभयो । एपिएफ विसं २०६४ को छैटौँ संस्करणमा पहिलो पटक आहा १ राराको फाइनल पुगेको थियो । फाइनलमा एपिएफ नेपाल पुलिस क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो । आहा राराको इतिहासमा दोस्रो पटक फाइनल पुगेको एपिएफले बिहीबार मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग माघ १५ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलपछिको पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक कुमार थापाले खेलाडीले मेहनत गरेर खेलेकाले फाइनल पुग्न सफल भएको र प्रदर्शनप्रति खुशी व्यक्त गरे । टोलीमा विदेशी खेलाडीको सहभागितापछि शहीद स्मारक लिगको तेस्रो चरणपछि हार बेहोर्न नपरेकाले अब उपाधिका लागि खेल्ने बताए ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग खेल्ने पहिलो रोजाइका छ खेलाडी टोलीमा नहुँदा खेल कठिन भएको बताए । सङ्कटासँगको अघिल्लो खेलका टोलीका दुई महत्वपूर्ण खेलाडी घाइते भएको र १० खेलाडीमा सीमित हुनुपर्दासमेत हार भएको उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए। यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.