www.tandavnews.com
Fact ~ In search of truth

तीन महिनापछि पाए पुरस्कार राशी, तयारी खर्चको रकम अझै बाँकी

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

नेपालमा पहिलो पटक सम्पन्न भएको ‘राष्ट्रिय फुटसल लिग’ को विजेता तथा उपविजेता टोलीले साढे तीन महिनापछि मात्रै पुरस्कार राशी पाएका छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल विभागको आयोजनामा लिग च्याम्पियन बनेको पोखरेली टोली स्पोर्टस् क्यासलले १० लाखको करकट्टी (टिडिएस २५ प्रतिशत) गरी कुल ७ लाख ५० हजार र उपविजेता टोली शंखमुल फुटसलले विना करकट्टी ५ लाख प्राप्त गरेका हुन् ।

उपाधि रकमसँगै च्याम्पियन टोलीले पाएको विभिन्न उत्कृष्ट विधाको रकम समेत प्राप्त गरेको स्पोर्टस् क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङले बताए । ‘हामीले सबै म्यान अफ द म्याचको पैसाहरु पाईसकेका छौ, ‘उनले भने, ‘नपाएको भनेको त्यै तयारी खर्चको ५० हजार हो । एक दुई दिनमा आउँछ भन्ने कुरा थियो । फेरी सम्पर्क गरौला ।’ गुरुङका अनुसार विधागत उत्कृष्ट पुरस्कार तर्फ सुमित श्रेष्ठले उदीयमान खेलाडीको र उत्कृष्ट प्रशिक्षकका रुपमा घोषित भएका नेपालका सहायक प्रशिक्षक समेत रहेका विष्णु गुरुङले जनही २५ हजार प्राप्त गरे ।

Batas

उपविजेता बनेको काठमाडौंको टोली शंखमुलले पनि घोषित द्वित्तिय पुरस्कार राशी भुत्तान गरिसकेको टिम व्यवस्थापक प्रमोद सिंले बताए । उनले द्वित्तिय पुरस्कार राशी सबै प्राप्त गरिसकेको बताउदै तयारी खर्च र म्यान अफ द म्याचको रकम बाँकी रहेको जानकारी दिए । ‘हामीलाई जे होस् ५ लाख नै राख्देको छ । ५ लाखमा १०/१५ रुपैयाको मात्रै फरक छ । त्यसलाई ५ लाख नै भनौ न’, उनले भने, ‘त्यो बाहेक ११ जनाको म्यान अफ द म्याचको पाको छैन । र ५० हजार तयारी खर्च सुरुमा दिने चाँही बाँकी छ । अरु दुई वटा बेष्ट अवार्डको त पाईसकेका छौ ।’

टिम व्यवस्थापक प्रमोदका अनुसार यातायात खर्चको करिब १२ हजार, तयारी खर्चको ५० हजार र ११ वटा म्यान अफ द म्याचको ५५ हजार अझै बक्यौता रहेको छ ।

अफिसियललाई धोकाः सम्झौता विपरित पारिश्रमिक

एन्फाले साढे तिन महिनापछि बक्यौता पारिश्रमिक रकम व्यवस्थापन गरेपनि म्याच रेफ्रीहरुले सम्झौता अनुसारको रकम पाएका छैनन् ।

उनीहरुलाई मौखिक सम्झौता अनुसार परम्याच १० हजार दिने निर्णय गरिएपनि नियमावलीमा ६ हजार उल्लेख भएको भन्दै ६ हजारको दरले प्रदान गरिएको हो । उक्त ६ हजारमा पनि १५ प्रतिशत करकट्टी गरिएको छ । पुरस्कार राशी ५ लाख भन्दा माथी भएको खण्डमा २५ प्रतिशत र (पारिश्रमिक) आम्दानीमा १५ प्रतिशत करकट्टी गर्ने प्रावधान रहन्छ ।

‘परम्याच १० हजारमा फिक्स गरेपनि नियमावलीमा ६ हजार आएको हुनाले अहिले ६ हजारको दरले आछ, स्रोतले भन्यो, ‘६ हजारको दरले १५ प्रतिशत कर काटेर आछ । पैसा चाँही कसले कति खेलायो त्यही अनुसार बाँड्छौ । अब बाँकी पैसा चाँही जुन ४ हजारको दरले ४९ गेमको अझै बाँकी छ । त्यो पनि दिन्छु भनेको छ तर कहिले दिन्छ फिक्स भाछैन ।’

सो लिगमा रेफ्री ईन्स्ट्रक्टरका रुपमा सुरज मानन्धर, म्याच कमिस्नरका रुपमा सुरेन्द्र तामाङ र शक्ति श्रेष्ठले भुमिका निर्वाह गरेका थिए । भने जर्नल कोअर्डिनेरका रुपमा दयाराम सापकोटा र सुवास न्यौपाने प्रतियोगितामा खटिएका थिए ।

यसैगरि म्याच रेफ्रीमा सिनियर रेफ्री सन्तोष गुरुङ, कविरमान गुरुङ, राजकुमार श्रेष्ठ, सौरभ गुरुङ, हरिस कार्की, प्रभात शर्मा, सुवास तामाङ, विश्वास गुरुङ, राजन थापा, सुजन जिसी र दीपेन्द्र तामाङ रहेका थिए । असोज २ देखि २२ गतेसम्म पोखरा रङगशाला कभर्डहलमा भएको लिगमा ११ जना रेफ्री र अन्य ५ गरी १६ जना अफिसियलले कुल ४९ खेल सम्पन्न गरेका थिए ।

अफिसियलहरुले यस लिग अघि भएको छनौट चरणको खेलहरुको पनि कुनै पारिश्रमिक रकम पाएका छैनन् ।

सम्बन्धित न्यूज

उधारो ‘फुटसल लिग’ : अझै पाएनन् नगद पुरस्कार

उधारो फुटसलः अफिसियलले पनि पाएनन् पारिश्रमिक

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.