www.tandavnews.com
Fact ~ In search of truth

महानगरलाई चुनौती दिदै फेवा किनारमा ‘प्लटिङ’

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

२०६९ सालमा विश्वप्रकाश लामिछाने नेतृत्व समितिले सार्वजनिक गरेको प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्ग किलोमिटर) रोपनी थियो । पुण्य पौडेल नेतृत्व फेवाताल चार किल्ला निर्धारण तथा सीमांकन समितिले तयार पारेको प्रतिवेदन अनुसार तालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी (५.७२६ वर्ग किलोमिटर) मा खुम्चिएको छ ।

यो समयावधिमा फेवातालको क्षेत्रफल १ हजार ६ सय १९ रोपनी घटेको यी दुई प्रतिवेदनले प्रस्ट्याउँछ । त्यसोत वर्तमान सरकार तथा सरोकारवाला निकाय सहित विज्ञ टोलीले यो तथ्याङ्कलाई क्रसचेक गर्नुपर्छ । फेवा संरक्षणका लागि विभिन्न पहलहरु भएपनि तालकिनारमा लालपुर्जा रहेका जग्गाधनिहरुले आ–आफ्नो जग्गा यकिन गर्न भन्दै अस्थायी संरचना बनाउदै आएका छन् । जसलाई महानगर सहित सम्बन्धित निकायले अवैध मानेको छ ।

Batas

लेकसाईडको ब्याकसाईड भनेर परिचित खपौदी क्षेत्रमा फेवा माथीको अतिक्रमण नौलो होईन । ड्यामसाईड, लेकसाईड हुदै खपौदीसम्मै फेवा किनारको सौन्दर्यकरण र संरक्षणको नाममा अवैध संरचना र प्लटिङको काम धमाधम हुदै आएको छ । तर पनि गण्डकी प्रदेश, पाखरा महानगर मौन जस्तै बनेको छ ।

गत वर्षको माघ महिनामै पोखरा महानगरपालिका १७ छोरेपाटन स्थायी रुपमा बसोबास गर्दै आएका खगराज शर्मा आचार्यले पोखरा १८ खपौदीमा रहेको जग्गाको संरक्षणका लागि रिटेनिङ वाल लगाएका थिए । उक्त संरचना भत्काउन महानगरपालिका प्रमुख मान बहादुर जिसीले निर्देशन दिए । तर ६० सुरक्षाकर्मी सहित भत्काउन पुगेको टोलीले अवैध पर्खाल खोस्रेर मात्रै फर्किएको थियो । यस अघि सोही स्थानमा मंसिर २८ गते महानगरले नै डोजर लगाएर निर्मित अवैध संरचना भत्काएको थियो ।

करिब ९ महिनापछि फेरी अटेरी गर्दै उक्त स्थानमा अवैध रुपमा ५ वटा प्लटिङ भएका छन् । जग्गाधनि खगराज आचार्य, प्रेम भट्टराई र शिवकुमार बास्तोला लगायत जग्गाधनिले पोखरा महानगर, गण्डकी प्रदेश सरकार र सरोकारवालाहरुको बेवास्ता गर्दै रिटेनिङ वालसहित प्लटिङ गरेका हुन् ।

एउटै स्थानमा कानून बर्खिलाप पटकपटक अवैध रुपमा संरचना बनाईनुले सम्बन्धित निकायको कार्यशैलीमा प्रश्न चिन्ह खडा भएको छ । तर पनि पोखरा महानगर र प्रदेश सरकार मौन मात्रै हैन कुनै पनि एक्सन लिन सकेको छैन ।

यस अघि सर्वाेच्च अदालतले फेवा किनारमा कुनै पनि संरचना नबनाउनका लािग स्टे अर्डर जारी गरेको थियो । यता जग्गाधनिले आफ्नो नाममा लालपुर्जा रहेकाले जग्गा संरक्षणको लागि संरचना बनाईएको बताउदै आएका छन् ।

‘जग्गा यकिन गर्न पर्खाल’

स्थलगत अवलोकनमा पुगेको गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र महानगरका प्रवक्ता धन बहादुर नेपाली समक्ष बोल्दै जग्गाधनि शिवकुमार बास्तोलाले आफ्नो जग्गा यकिन गर्न अस्थायी पर्खाल लगाएको बताए । उनले जग्गा अतिक्रमण नभई फेवा संरक्षणको उद्देश्य सहित सीमांकन गर्न पर्खाल उठाएको दोहोर्याए ।

बास्तोलाले सो कार्य गरेकै कारण सरकारी निकायले ताल संरक्षणको पक्षमा ध्यानाकर्षण भएको उल्लेख गरे । ‘यति गरेपछि बल्ल ताल संरक्षण गर्छु भन्ने आवज त पुग्यो नि, उनले भने, ‘मैले लगाएको पर्खाल मैले ने भत्काएर महानगर र प्रदेश सरकारलाई संकेत मात्र दिएको हुँ । मैले भत्काउदा यसको सुन्दरता र संरक्षण हुन्छ भने यसको लागतसँग मलाई कुनै प्रवाह छैन ।’

अब सरकारले फेवा संरक्षणमा काम गर्ने विश्वास व्यक्त गर्दै बास्तोलाले भने, ‘अब संरक्षण गर्ला तर गरेन भने अबको दुई महिना भित्र मैले यो भन्दा बलियो घर बनाउँछु ।’ मापडण्ड मिचेका सबैले हटाउनुपर्याे यो मैले पनि हटाउँछु । कानून भनेको सबैलाई समान हुनुपर्याे ।’

ढिलोचाँडो भत्काउछौँ:  खानेपानी मन्त्री आचार्य

स्थलगत अवलोकनका लागि पोखरा १० खपौदी पुगेका गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले मापडण्ड विपरित बनेका संरचना भत्काउने बताए । ‘सरकारले जुन ६५ मिटर मापडण्ड तोकेको छ । त्यो भित्र कुनै पनि संरचना बनाउन नपाउने भनेको छ । एकदम स्पष्ट रुपमा तोकेको छ । त्यो मापडण्डलाई तोडेर मापडण्ड मिचेर जुन संरचना बनाईरहेका छन् । त्यो भत्काउछौ, उनले भने, ‘ढिलो चाडोको कुरा हो त्यो हामी भत्काईछाड्छौ । त्यो प्रक्रिया सुरु गरिसकेका छौ । त्यसो भएको हुँदा यो कुरामा धुक्क रहनुहोला ।’

मन्त्री आचार्यले मापडण्ड भित्र पर्ने जग्गा किनबेचको कुराले कानूनलाई वास्ता नगर्ने बताउदै भने, ‘यो जग्गा तालको मापडण्ड विपरित छ भन्ने कुरा बेच्ने र किन्ने दुवैलाई थाहा छ । जग्गा किन्ने र बेच्ने मिलेर दलाली गरेर काम गर्नुहुन्छ भने उहाँहरुको कुरा हो तर हामी मापडण्ड त छोड्दैनौ नी यो त राज्यको नियम होनी ।’

मापदण्डले वडा अध्यक्षको घर चिन्दैनः उपमेयर गुरुङ

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले मापडण्ड विपरित बनेका कुनै पनि संरचनालाई छुट नदिने बताईन् । उनले मापडण्ड विपरित बनेको वडा १८ का अध्यक्ष रणबहादुर थापाको घरलाई पनि प्रक्रियामा गएको खण्डमा नछाड्ने दोहोर्याइन् ।

‘मापडण्ड विपरित रहेको वडा अध्यक्षको घरको विषयमा पनि धेरै कुरा भएको छ, उनले भनिन्, ‘मापडण्डले मात्र आफ्नो मापडण्ड चिन्छ कसैको घर चिन्दैन । यसले वडा अध्यक्षको घर पनि भन्दैन र पछि प्रक्रियामा आयो भने वडा अध्यक्षको घर भनेर छोड्ने कुरा आउँदैन । मैले फेरी भन्छु मापडण्डले वडा अध्यक्षको घर चिन्दैन ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.