www.tandavnews.com
Fact ~ In search of truth

३ फिट ७ इन्च अग्ला सागरको सगरमाथा सपना

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

कास्की मादीगाउँपालिकाका सागर सुनार (विश्वकर्मा) ३ फिट ७ इन्च उचाइका छन् । उनको तौल ३५ केजी छ । मादि–११ तासेका स्थायी बासिन्दा उनी पाँच भाईमध्येका कान्छा हुन् । २८ वर्षीय सागर सर्वोच्च शिखर सगरमाथा आरोहरण गर्ने योजनामा छन् । उनी सबै तयारी पूरा गरी आउँदो बैशाखमा सगरमाथा चढ्ने योजना बुनेका छन् । उनले आरोहण सम्बन्धी पूर्वतयारी समेत गरिसकेका छन् । गत अक्टुबर ३० मा दोलखा जिल्लामा पर्ने ५ हजार ९ सय २५ मिटर अग्लो रामदुङ हिमाल सफल आरोहण गरेर अनुभव सगाँलिसकेका छन् । उनले १८ दिनको प्याकेज बनाएर हिमाल चढ्न पुगेका थिए ।

सगरमाथा आरोहणको सफल कीर्तिमान आरोहण गर्ने उनको सपना छ । उनलाई २१ पटक सगरमाथा शिखरमा पुगेका पेम्बा दोर्जे शेर्पाको साथ छ । शेर्पा र अधिवक्ता विष्णुप्रसाद भुसालको सर्पोटले सागर रामदुङ हिमाल चढेका हुन् ।

Batas

‘मेरो सगरमाथा चढ्ने ठूलो सपना छ । बाल्यकालदेखि नै यो सोंच पलाएको हो,’ उनले भने, ‘विदेशतिर पनि अपांग भएका व्यक्तिहरुले विभिन्न फरकखालका काम गरेर कीर्तिमान गरेको सुनेको थिएँ । मैले पनि सक्छु भन्ने अठोट लिएर यो निर्णय गरेको हुँ । सफल आरोहण पछि अपांगलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न चाहान्छु । म सफल हुनेछु भन्ने विश्वास पनि लिएको छु ।’

अपांग, होचो कद भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकोले यसलाई परिवर्तन हुन आवश्यक रहेको उनी बताउँछन् । उनी अहिले सगरमाथा चढ्ने तयारीमा विभिन्न कसरतहरु गरिरहेका छन् । ‘अबको दुई महिनामा हिँड्नुपर्छ । तयारी गरिरहेको छु,’ उनले सुनाए ।

सागरको सगरमाथा चढ्ने प्रेरणाको स्रोत भने पेम्बा दोर्जेको श्रीमती कान्छीमाया तामाङ हुन् । उनले सगरमाथा चढ्न जाने ५ सहयोगी सहित करिब १ करोड रुपैयाँ खर्च लाग्ने बताएका छन् । उनको सगरमाथा चढ्ने योजनालाई मादी गाउँपालिकाले सर्पोट गर्ने भएको छ । पालिका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ ले सागर सुनार सगरमाथा आरोहण सहयोग समिति गठन गरिएको जानकारी दिए । गुरुङको संयोजकत्वमा १ सय २१ सदस्यीय समिति रहेका छन् । उनले सबै एक भएर कार्यापालिकाको बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय हुने जानकारी दिए ।

‘अर्थ संकलनको लागि अभियान नै चलाउनेछौं । यो अभियान पोखरा, काठमाडौं र विदेशसम्म रहनेछ । हामीले आर्थिक पारदर्शी ढंगले काम गर्ने व्यवस्था मिलाउनेछौं,’ उनले भने, ‘सागर भाई को सपनालाई पूरा हुनुभनेको समग्र मोदी गाउँपालिकाको गौरबको कुरा पनि हो । हाम्रो हर पाइलापाइलामा सर्पोट रहनेछ ।’

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.