www.tandavnews.com
Fact ~ In search of truth

एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा महत

चितवन ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने “ कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन । ”

उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । उनले भने, “गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो । ” एमसिसीमा कुनै देशद्रोह नभएको उनले बताए । प्रवक्ता डा महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भने , “नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?”

Batas

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार हो भने । दलहरुका एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने, “संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु प¥यो ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, “प्रचण्डले एमसिसी पास गर्छाैं भने सिग्नेचर गरेका हैनन् र ?” विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने, “ एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्काे कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?”

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.