www.tandavnews.com
Fact ~ In search of truth

एमाले केन्द्रीय लेखा आयोगको दोस्रो बैठक पोखरामा सम्पन्न, पार्टीलाई आर्थिक पारदर्शी बनाउने प्रतिबद्धता

पोखरा ।

नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको दोस्रो पूर्ण बैठक विभिन्न निर्णयसहित पोखरामा सम्पन्न भएको छ । आयोगको बैठक तथा प्रशिक्षण कार्यक्रम फागुन ५ देखि ७ गतेसम्म पोखरामा आयोजना भएको थियो । बैठकले आयोगमा थप केन्द्रीय सदस्य मनोनीत गर्दै पार्टीलाई आर्थिक रुपमा पारदर्शी बनाई सबै ढंगले अगुवाई गर्न सक्षम बनाउने प्रतिबद्धता जनाएको छ ।

हिजो बिग्रिसकेकोलाई आगामी दिनमा अझ राम्रो बनाउने गरी आयोगले कार्य थालनी गरेको अध्यक्ष डा. पुष्प कँडेलले जानकारी दिए । ‘पार्टी सबै रुपले सक्षम भयो भने मात्र देश सबल बन्नेछ,’ उनले बैठकका निर्णय सार्वजनिक गर्दै पत्रकारहरुमाझ भने, ‘पार्टी भित्रको आर्थिक पारदर्शितालाई हामीले पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेका छौं ।’

Batas

जनता र कार्यकर्ताहरुबाट नेतृत्वमाथि उठ्ने सवालाई सम्बोधन गर्ने गरी आयोगले व्यवस्थित ढंगले काम गरिरहेको उनले बताए । ‘पार्टीका सबै जनसंगठन र मातहतका कमिटी भित्रको आर्थिक गतिविधिलाई आयोगले लेखापरीक्षण गरी पारदर्शी र जवाफदेही बनाउने छ,’ उनले भने, ‘नेकपा एमाले व्यवस्थित भयो भने अन्य पार्टीलाई पनि दबाब सिर्जना हुन्छ ।’

सोहीअनुसार बैठकले पार्टीको आर्थिक परिचालन र लेखा व्यवस्थापनका निम्ति केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनिमय २०७८, लेखापरीक्षण नियमावली २०७२ (प्रथम संसोधन २०७८) र लेखा व्यवस्थापन तथा लेखा निर्देशिका २०७८ पारत गर्दै आगामी चैत मसान्तसम्ममा पार्टीको केन्द्रीय कोषको आन्तरिक लेखापरीक्षण गर्ने भएको आयोगका सचिव शिव अधिकारीले जानकारी दिए ।

‘पार्टीका प्रदेश तथा जिल्ला कमिटीको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने, ‘प्रदेश स्तरमा लेखा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, पार्टीको स्थिर सम्पत्तीको अभिलेख तयार गर्ने र जनसंगठनहरुको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लगायत आयोगको आन्तरिक परिचालन सम्बन्धी महत्वपूर्ण निर्णय भएको छ ।’

बैठकले आयोगमा केशबहादुर केसी (कास्की), प्रेमप्रसाद पराजुली (काठमाडौं), लिलाधर तिवारी (सुर्खेत), बद्री भट्टराई (बारा), जनक बराल (काठमाडौं), लक्ष्मी शाह (दैलेख) र रामेश्वर श्रेष्ठ (ललितपुर)लाई पार्टी विधान बमोजिम सदस्यमा मनोनय गरिएको सचिव अधिकारीले जानकारी दिए ।

बैठकको शुभारम्भ पार्टी महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो । बैठकमा विशिष्ठ अतिथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी, पार्टी नेता सोमनाथ प्यासी, केन्द्रीय सदस्यहरु मायानाथ अधिकारी र भीमबहादुर कार्की, कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङसहितको उपस्थिति रहेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.