www.tandavnews.com
Fact ~ In search of truth

आठ वर्षमा बन्दै धवलागिरि अस्पतालको भवन

गलकोट ।

बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ । तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो । भवन निर्माण समयमै नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बन्दै आएको थियो । पटक–पटक म्याद थप्दै गरे पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दै आएको थियो । अस्पतालको ‘सी’ ब्लकको रङरोगन, झ्यालढोका जडान, विद्युत् जडानलगायत काम भइरहेको छ । चैतभित्र भवन हस्तान्तरण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

Batas

विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी सुरु भएको ४० कोठे भवन तीन पटकसम्म म्याद थप भइसकेको छ । अस्पतालको जग्गा, विद्युत् पोल र कोरोनाको कारण देखाएर निर्माण व्यवसायीले पाँच वर्ष ढिला सम्पन्न गर्न लागेको हो । “अब अस्पताललाई भौतिक संरचनाको अभाव हुँदैन”, पोखरेलले भने । जिल्ला अस्पतालबाट ५० शय्याको रुपान्तरण भएपछि भवन निर्माण नसकिँदै २०० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकारले योजना अघि सारेको छ । गण्डकी प्रदेश सरकारले २०० शय्याको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउँदैछ ।

विसं २०६४ मा अस्पतालको ‘ए’ ब्लक तथा २०६६ मा ‘बी’ ब्लक निर्माण गरिएको थियो । ‘सी’ ब्लकको काम सम्पन्न हुने चरणमा छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले २०६४ सालमा भवन निर्माण गर्न ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा ठेक्का सम्झौता गरेको थियो । ‘ए’ ब्लक सम्झौताअनुसार तथा ‘बी’ ब्लक सम्झौताको १० वर्षमा सम्पन्न भएको थियो ।

भवन निर्माणको जिम्मा पाएको आशिष–मिलिनियम र भीम ज्योति जेभीका प्रतिनिधि रञ्जित बुढाले ‘सी’ ब्लकको जगमा कडा चट्टान रहेका कारण निर्माणमा ढिलाइ भएको बताए । ‘सी’ ब्लकको लागत रु १० करोड ६ लाख रहेको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.