www.tandavnews.com
Fact ~ In search of truth

कुश्मामा पूर्वाधार तथा आयआर्जनमूलक कार्यक्रम

पर्वत ।

पर्वतको कुश्मा नगरपालिकामा भौतिक पूर्वाधार विकास तथा आयआर्जनमूलक पूर्वाधार निर्माणको कार्यक्रम सुरु गरिने भएको छ ।

नगरपालिकाको आवश्यकताअनुसारको विभिन्न भौतिक पूर्वाधार निर्माण गर्न तथा आयआर्जनसम्बन्धी पूर्वाधारमूलक कार्यक्रम सञ्चालनका लागि सघन सहरी विकास तथा भवन निर्माण विभागसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । सघन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनाली र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीबीच कार्यविधिमा शुक्रबार हस्ताक्षर भएको छ ।

Batas

नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्रका सबै वडाका कच्ची सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको बताए । यस्तै नाली निर्माणदेखि आयआर्जनमूलक उद्यम विकासमा पनि कार्यक्रमले सहयोग गर्ने उनले जानकारी दिए । सबै वडामा एउटा न एउटा योजना पर्ने गरी कार्यक्रम तर्जुमा गरिने जोशीले जानकारी दिए ।

केही योजना सङ्कलन भइसकेको र योजना सङ्कलनको काम भइरहेकाले नगरपालिकाले विस्तृत योजना बनाएपछि योजनाको विस्तृत अध्ययन हुने र तत्पश्चात् कामको सुरुआत हुने नगरप्रमुख जोशीले बताए । नगरउपप्रमुख सीता काफ्ले लामिछानेले सहरोन्मुख कुश्मामा आवश्यकताका आधारमा योजना छनोट गरी कार्यक्रम सञ्चालन गरिने बताइन् । आफूहरु निर्वाचित भएपछि नगरपालिकाको समग्र विकासमा ध्यान दिँदादिँदै बजेटको अभावमा कतिपय योजना अधुरा रहेको अवस्थामा यो कार्यक्रमले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने उल्लेख गरेकि थिइन् ।

कुश्मा नगरपालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि रु ५० करोड बराबरको आर्थिक सहयोग प्राप्त हुने भएको छ । चालु वर्ष योजना सुरु भए पनि अधिकांश योजना बहुवर्षे कार्यक्रममा समावेश हुने जनाइएको छ । कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे शुक्रबार नगरपालिकामा छलफल भएको थियो ।

यसैबीच कुश्मामा बसपार्क निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत योजना अगाडि बढाउन नगरपालिकाले सिफारिस गरेको छ । सिटीहलसहितको बसपार्क निर्माण गर्ने गुरुयोजना भए पनि चालु वर्ष रु १० करोड मात्र बजेट प्राप्त भएकाले उक्त बजेटमार्फत कामको सुरुआत गर्न कार्यालयलाई नगरपालिकाले सिफारिस गरेको हो ।

सिटीहलसहित बसपार्क निर्माण गर्न रु ७५ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । बहुवर्षे योजनामा समावेश भएको सिटीहलसहित बसपार्क निर्माण गर्ने भन्दै कुश्मा नगरपालिकाले गौरवको योजनाको रुपमा अगाडि सारेको छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.