www.tandavnews.com
Fact ~ In search of truth

दुई महिनापछि पोखरा-जोमसोम उडान

म्याग्दी ।

पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो ।

जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई-दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच-पाँच वटा उडान भर्दै आएका छन् ।

Batas

हवाई उडान चालु भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् ।

हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगी फर्कनका लागि टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ ।

अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । घाँसा प्रहरी चौकीका अनुसार दैनिक एक हजार ५०० पर्यटक सडक मार्ग भएर मुस्ताङ भित्रिएका छन् । चौकीका इञ्चार्ज मनबहादुर कार्कीले दैनिक तीन सयको हाराहारीमा मोटरसाइकल, स्कार्पियो जीप र बसमा पर्यटक मुस्ताङ भित्रिएका बताए ।

मुक्तिनाथ मन्दिर, कागबेनीलगायत धार्मिक र पर्यटकीयस्थलमा चहलपहल बढेको छ । मुक्तिनाथ मन्दिरका कर्मचारी रवीन सुवेदीले गर्मी बढ्नाका साथै कोरोना सङ्क्रमण दर पनि घटेपछि तीर्थयात्रीको आगमन हुन थालेको बताए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.