www.tandavnews.com
Fact ~ In search of truth

गोपाल खनालको ‘सम्झनाका लहरहरू’ लोकार्पण

पोखरा  ।

युवा सर्जक गोपाल खनालको गजल कृति सम्झनाका लहरहरुको लोकार्पण गरिएकाे छ । पोखराको न्युरोड स्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा शनिबार आयोजित कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरेका हुन् ।

गजल सन्ध्या पोखराको १२ औँ अधिवेशन, १७ औँ साधारण सभासँगै नियमित रचना वाचनको २२४ औँ श्रृङ्खलाको अवसरमा आयोजित कार्यक्रम सन्ध्याका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको थियो ।

Batas

उद्घाटन सत्रका प्रमुख अतिथि तीर्थ श्रेष्ठले खनालको नवीनतम कृति लोकार्पण गर्दै गजलका नाममा रचना लेख्दैमा जो कोही  गजलकार हुन नसक्ने धारणा राखे । ‘कतिले त गजललाई साहित्यको विधा नै नमान्ने र गजल लेख्नेलाई साहित्यकार नै नमान्ने अवस्था थियो’ गजल लेखनको अनुभव सुनाउँदै श्रेष्ठले भने, ‘गजलकारहरूकै कारण गजल आज स्थापित विधा बनेको छ ।’

तारकेश्वर गाउँपालिका–१ दाङसिङ, नुवाकोटका स्थायी बासिन्दा खनाल पोखरामा रहेर साहित्य साधना गरिरहेका युवा सर्जक हुन् । पत्रकारिता र शिक्षणमा समेत लागेका उनको यस कृतिमा १०१ गजल  समेटिएका छन् । खनालले आफ्नो  दशकदेखिको कृति प्रकाशन गर्ने धोको पूरा भएकोमा खुसी व्यक्त गरे । सम्झनाका लहरहरु कृति गजल सन्ध्या पोखराको प्रकाशन र रमण पौडेलको सहप्रकाशनमा बजारमा आएको हो ।

गजल सन्ध्याका वसन्त विनोदले स्वागत मन्तव्य राखेको कार्यक्रममा सन्ध्याका संस्थापक अध्यक्ष दीलिप दोषी, गजलकार प्रकट पँगेनी ‘शिव’, पूर्व अध्यक्षहरू दीपक समीप, रुपीन्द्र प्रभावी, मन क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.