www.tandavnews.com
Fact ~ In search of truth

कालिगण्डकी माथि ‘सुपरम्यान’ स्टायलमा जिपलाइनमा सरर…

पोखरा
ताण्डव न्यूज ।

बन्जी र स्विङपछि ‘एड्भेन्चर’ मन पराउनेको लागि पर्वतमा जिपलाइन सञ्चालनमा आएको छ । ‘सुपरम्यान’ शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको हार्नेस जिपलाइन पर्वतमा ‘सुपरम्यान स्टाइल’ को जिपलाइन सन्चालनमा छ। गत पुस २४ गतेबाट जिपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल भने केही समय पछि मात्र सुरु भयो ।

अमेरिकी प्रविधिको ‘जीपस्टक ब्रेक सिस्टम’ जडान कार्य पूरा भएपछि ‘सुपरम्यान’ शैलीमा पनि जिपलाइन सुरु गरिएको सञ्चालक राजकुमार बस्नेतले बताए। परीक्षणसहित उद्घाटनपछि सम्म पनि ‘क्लासिक’ शैलीमा जिपलाइन हुँदै आएकोमा ‘ब्रेक सिस्टम’ को जडान कार्य पूरा भए पनि ‘क्लासिक’ सहित ‘सुपरम्यान’ शैलीमा जिपलाइन रमाउनेहरूको उल्लेख्य उपस्थिति रहेको उनको भनाइ छ।

Batas

‘हामीले क्लासिक स्टाइलको जिपलाइन त रेगुलर गरिरहेका थियौँ। तर बिचमा केही दिन क्लासिक जिपलाइन पनि स्थगित गरेर ब्रेक जडानको काम पूरा गरेका छौँ,’ उनले भने, ‘अब जिपलाइनको साहसिक खेलमा रमाउन चाहने पर्यटकहरूले क्लासिक वा सुपरम्यान दुवै तरीकाले गर्न सक्नुहुनेछ।’

उनका अनुसार ‘सुपरम्यान’ को ४५ सय, ‘क्लासिक’ को ३५ सय र ‘टेन्डम’ (एकै पटकमा दुई जना) को ६५ सय रुपैयाँ मूल्य तोकिएको छ। ‘दैनिक २०/२५ जनाले जिपलाइनको मजा लिने गर्नुभएको छ,’ उनले भने, ‘पर्वत भन्दा बाहिरी जिल्लाबाट जिपलाइन गर्न आउनेहरु बढी छन् ।’

कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ। १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुनेछ।

पर्वत सदरमुकामसमेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म १४ सय ८० मिटरको दूरीमा जिपलाइन बनेको हो।

क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ। यो जिपलाइनमा एकै पटकमा दुईजना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ। जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ।

जिपलाइनमा ७ जनाले साढे ३ करोड लगानी गरेका छन् । जिपलाइन पोइन्ट माथि फास्ट फुड रेस्टुरेन्ट भएकोले पर्यटकले त्यसको पनि मज्जा लिन सक्ने उनले बताए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.