www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु

पर्वत ।

स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रबारदेखि त्रुटि सच्याउन सुरु भएको छ । निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।

Batas

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गरेे । एक हप्ताको अवधिमा विवरण सच्याउन नआउनेले पछि विवरण सच्याउने मौका नपाउने उनको भनाइ थियो ।

राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकारलगायतको सहभागितामा निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक र कार्यालयको निर्वाचन लक्षित तयारीका बारेमा शुक्रबार एक कार्यक्रम गरेर जानकारी दिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा एक लाख २३ हजार १८५ मतदाताको विवरण सार्वजनिक भएको छ ।

विसं २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी शर्माले बताए । अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८८५ बढी मतदाता देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुद्ध नामावली, स्वच्छ निर्वाचन भन्ने मूलमर्मलाई ख्याल गर्नुपर्ने बताइन् । निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा, सवारी साधनको व्यवस्थालगायत तयारी सुरु भइसकेको उनको भनाइ थियो ।

रासस

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.