www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : अध्यक्ष ओली

मोरङ ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् ।

एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज आयोजित तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए । अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

Batas

एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनीएकाल उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे । उनले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गरे ।

आफू नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाडौँ रेलसेवा, सुरुङमार्ग, काठमाडौँमा सुक्खाबन्दरगाहजस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताए ।

सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उनले जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राखे । सदरमुकाम जोड्ने बुटबल, ढल्केवर, गोरुसिङे, नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दाबी गरे ।

एमालेका सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले हाम्रो पार्टी जनताको चाहना एवं भावनाअनुसार काम गरेको उल्लेख गरे ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जानकारी दिए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.